सोसल मिडिया
Contact Us
युनिकोड
डोटी, ८ वैशाख । डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन् । सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । प्रदेशका सबै निर्वाचन कार्यालयले आज नौवटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पु¥याउने काम भइरहेको निमित्त प्रमुख भट्टले बताए । प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र दुई हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कूल तीन हजार ८४६ जनप्रतिनिधि निर्वाचित हुने छन् ।
सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र छन् । कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिने छन् । कञ्चनपुरका नौ पालिकाका ३४१ मतदान केन्द्रमा एक हजार ८०० बढी कर्मचारी खटिने भएका छन् । सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन् । जसमध्ये आठ लाख ३१ हजार ४७० महिला, आठ लाख ६६२ पुरुष र १८ तेस्रो लिङ्गी छन् । यसैगरी डोटीका नौवटा स्थानीय तहमा रहेका मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्ने काम सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । उनले भने, “हामीले एक चरणमा मतदान स्थलको निरीक्षण तथा अनुगमन गरीसकेका छौँ, पुनः अर्को पटक निरीक्षणको तयारी छ ।” कुन मतदान स्थलमा कति जना सुरक्षाकर्मी खटाउने सो विषयमा छलफल भइरहेको प्रजिअ विष्टले जानकारी दिए । डोटीमा पछिल्लो सयम राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन् । चुनावको मिति घोषणासँगै कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् । डोटीमा एक लाख २४ हजार १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिए ।
सक्षम नेतृत्वको खोजीमा मतदाता
सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । सरकारले यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेर काम थालेपछि स्थानीयस्तरमा रहेका राजनीतिक दलले पनि आफ्ना गतिविधि बढाएका छन् । स्थानीयस्तरमा नेताहरू उम्मेदवारी दाबी गर्ने र राजनीतिक दल उम्मेदवार छनोटलगायत काममा जुटेका छन् । साथै राजनीतिक दलले मतदातालाई प्रभावित पार्न विभिन्न राजनीतिक कार्यक्रमसमेत गर्न थालेका छन् । टीकापुर नगरपालिका–६ की सङ्गीता विश्वकर्मालाई जनताको भावना बुझ्ने, पढेलेखेको, युवालाई साथमा लिएर हिँड्नसक्ने नेता पालिकाको नेतृत्वमा आउनुपर्छ भन्ने लाग्छ । “नेतृत्व शिक्षित हुनुपर्छ, शिक्षितसँगै युवा, महिला, बालबालिकाका भावना बुझ्ने, हामीलाई नगर विकासमा सहभागी गराउनसक्ने योजना भएको नेता चुन्ने योजनामा छौँ”, उनी भन्छन्, “निर्वाचनमा उम्मेदवार धेरै हुन्छन् । यसपटक नगर विकासका लागि समय दिनसक्ने, सबैको हितमा काम गर्नसक्नेलाई जिताउनुपर्छ भनी हामी सचेत छौँ ।” नेता व्यक्तिगत स्वार्थ त्यागेको विकासप्रेमी हुनुपर्छ । विकासप्रेमीसँगै नागरिकको भावना सम्बोधन गर्नसक्ने, सबैलाई मिलाएर लैजाने खालको नेता होस् भन्ने सबैको चाहना हुन्छ । नेता नागरिकका सबैखाले अपेक्षा पूरा गर्नसक्ने क्षमताको होस् भन्ने चाहना नागरिकले राखेका छन् । टीकापुर–७ सत्तीकी उषा ढुङ्गानालाई अब आउने नेतृत्व लैङ्गिक संवेदनशीलता बुझेको, सामाजिक कुरीति अन्त गर्नसक्ने र काम गर्ने जोश जाँगर भएको शिक्षित युवा होस् भन्ने लाग्छ । “हाम्रो समाजमा लैङ्गिक समानता नभएका कारण महिला सदियौँदेखि हिंसाबाट पीडित छन्”, ढुङ्गाना भन्छन्, “नेतृत्वमा बस्ने लैङ्गिक संवेदनशीता बुझेको हुन आवश्यक छ ।” नागरिकका असीमित चाहनालाई क्रमशः पूरा गर्नु नेतृत्वको दायित्व भएकाले नेतृत्व छान्दा चुक्न नहुनेमा युवा सचेत छन् । कुरा मात्र गर्नेभन्दा साना साना समस्या र माग पूरा गर्नसक्ने नेता छान्नुपर्ने टीकापुरका सुशील ओझा बताए । “कैलालीको समस्या फोहोर व्यवस्थापन, छाडा पशु चौपाया, ढल निकास, सडक बनाउनुपर्नेजस्ता समस्या छन्”, उनले भने । पालिकाको नेतृत्वमा बसेर निर्णय लिनुपर्ने व्यक्ति कम्तीमा स्नातह तह उत्तीर्ण हुनुपर्ने टीकापुर–५ का रमेश चौधरी बताउँछन् । “पढेको, अनुभव भएको नेताले पो हिम्मतका साथ काम गर्न सक्छ”, उनी भन्छन्, “नेतृत्व छान्दा गल्ती भएमा पाँच वर्ष पछुताउनु पर्ने हुन्छ । यसपटक हामी सचेत छौँ ।” कैलालीकै अर्जुनकुमार वन पनि विकास गर्न सक्ने, हाम्रो नभई राम्रो क्षमता भएको, पढे लेखेको, युवाका भावना समेट्न सक्ने नेतृत्व आवश्यक रहेको बताए । “आफन्त, नातेदार हो भनेर सक्षम मानिस छोडेर आफ्नालाई जिताउँदा पछुताउनुबाहेक केही हात लाग्दैन”, उनी भन्छन्, “पालिकाको नेतृत्वमा जाने सबैको अभिभावक हो । सबैको अभिभावक असल, क्षमतावान्, कुशल हुनुपर्छ । यसका साथै सबै क्षेत्रलाई साथमा लिएर विकासका कार्यमा खट्ने हुनुपर्छ ।” कैलालीमा १३ स्थानीय तह छन् । यसपटकको निर्वाचनका लागि कैलालीमा ७२ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कूल मतदाता सङ्ख्या पाँच लाख २७ हजार ५४८ पुगेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा मतदाता सङ्ख्या चार लाख ६० हजार ५७८ थियो ।
डिआइजीद्वारा मनाङका मतदान केन्द्रको निरीक्षण
गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिवेश लोहनीले मनाङका अतिसंवेदनशील मतदान केन्द्रको निरीक्षण गर्नुभएको छ । उहाँले जिल्लाका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्थाको विश्लेषण तथा आवश्यक सुरक्षा व्यवस्था मिलाउन लोहनी मनाङ आउनुभएको हो । विकट तथा संवेदनशील क्षेत्रमा शान्त र सुरक्षित तवरबाट मतदान गराउन उहाँले जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि जिल्लामा रहेका २८ मतदानस्थललाई तीन तहमा बाँडिएको छ । पाँच मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको आचार्यले बताए । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, सामाजिक संरचनालगायत आधारमा पाँच मतदानस्थललाई अतिसंवेदनशिलमा राखिएको उनले बताए । पन्ध्र मतदानस्थललाई संवेदनशील तथा आठ मतदानस्थललाई सामान्यमा राखिएको छ । अतिसंवेदनशिल र संवेदनशीलरुपमा वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ आचार्यले बताए । सोहीअनुसार स्थानीय तहको निर्वाचनको दिन मतदानस्थलको सुरक्षा, मतपेटिका गणना स्थलसम्म सुरक्षितरुपमा लैजाने योजनासहित सुरक्षा प्रबन्ध मिलाइएको आचार्यले बताए । मनाङमा २८ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार जिल्लामा ६ हजार ४९६ मतदाता छन् । पुरुष तीन हजार १४८ र महिला मतदाताको सङ्ख्या तीन हजार ३४८ रहेको छ ।–रासस