जुलाईदेखि सिङ्गापुरसँग हवाई उडान खोल्दै अस्ट्रेलिया  

आइतबार, चैत १, २०७७
मयुर प्लाई
Global Ime Bank

सिड्नी । अस्ट्रेलियाले आगामी जुलाईसम्ममा सिंगापुरसँग हवाई यात्रा खोल्ने बारेमा छलफल थालेको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्न अस्ट्रेलियाले लामो समयदेखि अन्तरराष्ट्रिय उडान र यात्रामाथि कडाई गरेको छ ।  अस्ट्रेलियाली अधिकारीले पर्यटन र यात्रामा सहजीकरण गर्न सिंगापुरसँग हवाई उडान खुला गर्नेबारेमा छलफल भइरहेको बताएका छन् ।  अन्तरराष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले विशेष परिस्थितिमा बाहेक कुनै पनि गैर–अस्ट्रेलियाली व्यक्तिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ ।  अस्ट्रेलियाका उपप्रधानमन्त्री माइकल म्याककोरम्याकले आगामी जुलाईदेखि दुई देशबीच हवाई उडान खोल्ने बारेमा छलफल भइरहेको जानकारी दिए । उनले एबिसी टेलिभिजनसँग कुरा गर्दै कोरोनाभाइरसको खोप लगाउन शुरु भएको अवस्थामा अस्ट्रेलियाले अन्य मुलुकसँगको यात्रा पनि खुला हुँदै जाने बताए ।  अस्ट्रेलियाली अखबार सिड्नी मर्निङ हेराल्डका अनुसार यो सम्झौता बमोजिम खोप लगाएका सिंगापुरे र अस्ट्रेलियाली नागरिकलाई एकअर्का देशमा क्वारेन्टाइनमा बस्नु नपर्ने व्यवस्था गर्न लागिएको छ ।  उक्त अखबारले तेस्रो मुलुकका व्यक्तिजस्तै अन्तरराष्ट्रिय विद्यार्थी, व्यावसायिक यात्रु र स्वदेश फर्कन चाहने नागरिकले अस्ट्रेलियाका लागि उड्नु अघि सिंगापुरमा दुई साताको क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान समेटिएको जनाएको छ । अस्ट्रेलिया समेतका कतिपय मुलुकका लागि सीमा खोलिसकेको सिंगापुरले आफूले क्वारेन्टिन केन्द्र वा खोप केन्द्रको अवधारणाका विषयमा छलफल नगरेको स्पष्ट गरेको छ । सिंगापुरको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सिंगापुरले खोप प्रमाणपत्रलाई दुबै देशले मान्यता दिने बारेमा जोड दिएको जनाएको छ । विज्ञप्तिमा विद्यार्थी र व्यावसायिक यात्रुलाई उच्च प्राथमिकता दिन पनि अस्ट्रेलिया समक्ष सिंगापुरले आग्रह गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीले बिना क्वारेन्टिन सिंगापुर र अस्ट्रेलियाका नागरिकलाई एकअर्का मुलुकको भ्रमण खुला गर्ने बारेमा छलफल गरेका छौँ ।’अस्ट्रेलियामा १४ दिने अनिवार्य क्वारेन्टिनका कारण दशौं हजार अस्ट्रेलियाली नागरिक विदेशमै अलपत्र परेका छन् । पर्यटन क्षेत्रबाट अस्ट्रेलियाले वार्षिक करिब ३५ अर्ब डलर आर्जन गर्ने गरेको छ, तर एक वर्षदेखि हवाई उडान रोकिएपछि यो क्षेत्र ठूलो सङ्कटमा छ ।  अस्ट्रेलियाले न्यूजील्यान्डसँग एकतर्फी हवाई उडान शुरु गरेको छ जहाँ न्यूजील्यान्डका नागरिकले बिना क्वारेन्टिन अस्ट्रेलियाको भ्रमण गर्न पाउँछन् । तर भाइरस देखिनासाथ यो व्यवस्था पटकपटक स्थगित हुँदै खुल्दै गर्ने गरेको छ ।– एएफपी
 

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार