कर्णालीमा सत्तासाझेदार दल सहमतिको अन्तिम प्रयासमा

आइतबार, वैशाख ११, २०७९

कर्णाली, ११ वैशाख । कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने गरी सहमति भएको छ । बाँकी जिल्लाको भागबण्डा मिलाउन सहमतिको लागि अन्तिम प्रयास भइरहेको छ ।
अध्यक्ष केसीले जुम्ला सहमतिको नजिकमा पुगेको जानकारी दिए  । उनले भने, “रुकुमपश्चिम, सुर्खेत र कालिकोट जिल्लाको भागबण्डा मिलाउन भने गठबन्धन दलबीच सघन छलफल भइरहेको छ । यसका लागि अब बैठक बस्दैछौँ र आजै जसरी पनि टुङ्ग्याउँछौँ ।” वडास्तरको भागबण्डा भने गठबन्धन दलका जिल्ला पार्टीले नै मिलाउने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले मनोनयन दर्ताको समयलाई मध्यनजर गरेर जसरी भए पनि गठबन्धन दलको तालमेललाई सहमतिमा लैजाने जानकारी दिए । “हामी गठबन्धन दलको केन्द्रको निर्णयानुसार सहमति गर्ने गरी गहन छलफलमै छौँ”, सभापति शाहीले भने, “जे–जसो गरे पनि आज नटुङ्ग्याई सुखै छैन । विश्वास छ, हामी सार्थक निर्णयमा पुग्छौँ ।”
नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष अमर थापाले पनि गठन्धन दलभित्र तालमेलको सहमति जुटाउन अन्तिम कसरत थालिएको बताए । अध्यक्ष थापाका अनुसार आजै मनोनयन दर्ता गरी सहमतिको टुङ्गोमा पु¥याउने प्रयास भइरहेको छ ।
 
धवलागिरिमा कांग्रेस–माओवादी तालमेल 

आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । 
दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका अध्यक्ष र सदस्यमा साझा उम्मेदवार बनाउने सहमति गरेका हुन् । गाउँपालिकाको अध्यक्ष, २, ३, ४ र ५ नं वडाको अध्यक्षमा कांग्रेस तथा १, ६ र ७ नं वडा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने भएका छन् । 
माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरन थापाले वडा सदस्यमा पनि साझा उम्मेदवार बनाउने सहमति भएको जानकारी दिए । गाउँपालिका अध्यक्षको उम्मेदवारमा कांग्रेसका पालिका सभापति प्रेम पुन चयन भएका छन् । 
उपाध्यक्षमा माओवादीका गाउँपालिका सचिव रेशम पुनलाई उम्मेदवार बनाउन सिफारिस भएको छ । कांग्रेसले वडा नं ३ को अध्यक्षमा देवेन्द्र रोकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २, ४ र ५ नं वडाको अध्यक्षका उम्मेदवार छनोट हुन बाँकी छ । 
माओवादीले वडा नं ६ मराङमा चक्र पुन र वडा नं ७ ताकममा अशोक खत्रीलाई वडाध्यक्षको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको थियो । माओवादीको भागमा परेको वडा नं १ गुर्जाको वडाध्यक्षमा हालका वडाध्यक्ष झक छन्त्याललाई दोहो¥याउने भएको छ । 
कांग्रेसको भागमा परेको वडा नं ५ मल्कवाङको वडाध्यक्षमा अमर छन्त्याललाई उम्मेदवार बनाएको छ । दुई दलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई पनि वडा तहमा समावेश गर्ने निर्णय गरेका छन् । कार्यपालिका सदस्य पनि बाँडफाँट गर्ने दुई दलको सहमति छ । 
दश हजार ९४० मतदाता भएको धवलागिरिमा १२ मतदानस्थल र १६ मतदान केन्द्र छन् । सत्ता साझेदार दलले गत चैत २४ गते जिल्लाका छवटै स्थानीय तह र ४५ वटै वडामा साझा उम्मेदवार चयन गर्ने सैद्धान्तिक सहमति गरे पनि पालिका र वडा बाँडफाँटमा कुरा नमिलेपछि अन्य पालिकामा एकल उम्मेदवारी सिफारिस, छनोट र घोषणा गरिरहेका छन् ।–रासस 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार