मेयरमा संविधानसभा सदस्यसम्मको उम्मेदवारी

बुधबार, वैशाख १४, २०७९
खोटाङ, १३ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेबाट मेयरमा कुमारप्रसाद आचार्य र उपमेयरमा वीणादेवी राईको मनोनयन दर्ता भएको छ ।
गठबन्धनकातर्फबाट मेयरमा कांग्रेसका तीर्थराज भट्टराई र धर्मराज पोखरेल, उपमेयरमा माओवादी केन्द्रका बिसन राईको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धन भए पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरमा माओवादी केन्द्रका दुर्गाजयन्ती राई, स्वतन्त्रबाट विकास राई, जनता समाजवादीबाट सूर्यबहादुर राई, राप्रपाबाट जीवनकुमार श्रेष्ठ र खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईको मनोनयन दर्ता भएको छ । राप्रपाबाट उपमेयरमा चन्द्रकुमारी राई र नेकपा एकीकृत समाजवादीबाट भागवत घिमिरेको मनोनयन दर्ता भएको छ । जिल्लाकै केन्द्रका रूपमा रहेको नगरपालिकामा सबै दलको नजर पर्ने गरेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा विजयी बनेकी वीणादेवी पुनः दोहोरिन चुनावी मैदानमा उत्रिएकी हुन् । मेयरमा उम्मेदवारी दिएकी दुर्गाजयन्ती संविधानसभा सदस्य हुन् । उनी २०६४ सालमा संविधानसभा सदस्य र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेकी थिइन् ।
मेयरका उम्मेदवार सूर्यबहादुर जसपा प्रदेश १ का सचिव एवं केन्द्रीय सदस्य हुन् । गठबन्धन कायम राख्नका लागि दुर्गाजयन्ती र विकासको उम्मेदवारी फिर्ता हुने बताइएको छ ।

 कांग्रेसको उम्मेदवार सिफारिसले विवाद 

कांग्रेसको मेयरको दुई उम्मेदवारबीचमा आधिकारिकताको विषयले विवाद चुलिएको छ । कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रले भट्टराईलाई मेयरको टिकट दिएपछि आधिकारिकताको विषय पेचिलो बनेको हो । अहिलेसम्म दुई मध्ये ‘को आधिकारिक उम्मेदवार बन्छ’ भन्ने टुंगो लागेको छैन । 

हलेसी तुवाचुङः मेयरमा ७ र उपमेयरमा ५ को उम्मेदवारी 

हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ७ जना र उपमेयरमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट मेयरमा विमला राई र उपमेयरमा रमेश राउत, एमालेबाट मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकी, माओवादी केन्द्रबाट मेयरमा रुसिका राई र उपमेयरमा अमेम्बर राईको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, जसपाबाट मेयरमा अञ्जलि राई, राप्रपाबाट मेयरमा छत्र पुरी र उपमेयरमा एबिना राई, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा तुलसीकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयरमा दिनेश राई र नेकपा एकीकृत समाजवादीको तर्फबाट उपमेयरमा भूमिराज राईको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत संगीता न्यौपाने ढुंगेलले बताइन् । ११ वडा रहेको नगरपालिकामा वडाध्यक्षमा ३९ जना, महिला वडा सदस्यमा ३२ जना, दलित महिला सदस्यमा ३१ जना र खुला सदस्यमा ६६ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसका मेयरमा उम्मेदवार राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा विजयी भएकी थिइन् । माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेका राई सो पार्टीका केन्द्रीय निर्वाचन आयोगको सदस्य छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार