सोसल मिडिया
Contact Us
युनिकोड
झापा, १७ वैशाख । स्थानीय तह निर्वाचनका लागि झापाका १५ पालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका १३९ जना उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाबाट रहेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए । उनुभयो । उनका अनुसार अर्जुनधारा नगरपालिकाबाट २० जना छन् । जसमा नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवारी दिने नगरप्रमुखका प्रत्याशी रमा खवास र उपप्रमुख प्रेमसागर सापकोटालगायत छन् ।
उम्मेदवारी फिर्ता लिनेहरूमा विर्तामोड नगरपालिकाबाट वडाध्यक्षका उम्मेदवारसहित १७, मेचीनगरबाट १६, बुद्धशान्ति गाउँपालिकाबाट १६, कचनकवलबाट सात, हल्दिबारीबाट छ, भद्रपुर नगरपालिकाबाट पाँच, बाह्रदशीबाट तीन, झापाबाट दुई, कमल गाउँपालिकाबाट एक, गौरादह नगरपालिकाबाट आठ, गौरीगञ्जबाट तीन, दमक नगरपालिकाबाट १३, शिवसताक्षीबाट ११ र कनकाई नगरपालिकाबाट १० जना रहेका छन् ।
जिल्लामा उम्मेदवारी फिर्ता गर्नेमा १० प्रमुख पदका, उपप्रमुखका नौ, वडाध्यक्षका ५० र बाँकी सबैमा महिला, दलित र खुल्ला सदस्यबाट रहेका छन् । जिल्लाका १५ पालिकामा जम्मा दुई हजार ९१४ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।–रासस
तनहुँमा ११० को उम्मेदवारी फिर्ता, एक हजार ६४० कायम
यता तनहुँमा ११० जनाको उम्मेदवारी फिर्ता भएको छ । विभिन्न पार्टी र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ११० जनाले आज उम्मेदवारी फिर्ता लिएका हुन् । तनहुँमा एक हजार ७५० उम्मेदवारले उम्मेदवारी दर्ता गरेकामा फिर्तापछि अब एक हजार ६४० उम्मेदवार कायम भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार व्यास नगरपालिकामा १८, आँबुखैरेनी गाउँपालिकामा पाँच, देवघाट गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा तीन, म्याग्दे गाउँपालिकामा एक, बन्दीपुर गाउँपालिकामा १२, शुक्लागण्डकी नगरपालिकामा ३७, भिमाद नगरपालिकामा नौ, भानु नगरपालिकामा २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । व्यास नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रमुखका उम्मेदवार शङ्करनारायण श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी स्वतन्त्र रूपमा प्रमुखमा उम्मेदवारी दिएका वृषराज श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् । व्यास नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन बनेको छ । नेकपा एसले व्यास–२ का वडाध्यक्षमा राजकुमार श्रेष्ठलाई समर्थन गर्ने बताएको छ । नेकपा एसका वडाध्यक्षका उम्मेदवार प्रेमकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । भानु नगरपालिकामा नेकपा (एमाले)का बागी उम्मेदवार हरि पाण्डेले उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवार सीताराम बजगाइँलाई समर्थन गरेका छन् ।–रासस