सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’ केन्द्रित गर्ने भएको छ । पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ को आज बसेको बैठकले सभाहरूमा केन्द्रीय वक्ताहरू नदोहोरिने गरी व्यवस्थापन गर्नेसमेत निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसका उपसभापति एवं उपसमितिका संयोजक धनराज गुरुङको सभापतित्वमा भएको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निर्धारण गरेका खुलासभाबाहेक अन्य कार्यक्रमहरू विकेन्द्रित रूपमा आयोजना गर्ने÷गराउने निर्णय गरेको छ । बैठकमा उपसमिति सदस्यहरू सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला एवं सदस्य सचिव डा प्रदीप पराजुलीको उपस्थिति थियो ।
कांग्रेसको जनसम्पर्क उपसमितिमा सदस्य थप
नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा गठन गरिएको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा आज १७ सदस्य थप गरेको हो । कांग्रेसले तेजेन्द्र कार्की (जर्मनी), रामप्रसाद चालिसे (स्विडेन), पुष्पा मिश्र (साइप्रस), मन्जीत जाम्लिङ राई (कुवेत), शेरबहादुर राउत (बहराइन), दीपक रेग्मी (साउदी अरब), तिलक चन्द ठकुरी (मलेसिया), नवीनकुमार पङ्गेनी (ओमान), शिवराम भण्डारी (फ्रान्स) र शुक्रराज न्यौपाने (आयरल्यान्ड)लाई उप–समितिमा राखेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस्तै, राजेन्द्र खनाल (इजरायल), डा एलिनी पोखरेल (पोल्यान्ड), जगतबहादुर शाह (हङकङ), सन्दीप राना (भारत), कृष्ण केसी (अमेरिका), सन्देश केसी (माल्टा) र जीवन कुँवर (अष्ट्रिया)लाई सदस्यमा मनोनयन गरिएको छ । संयोजक राणाले उपसमितिको सदस्यसचिवमा जनसम्पर्क समिति डेनमार्कका पूर्वसभापति एवम् पार्टीका महासमिति सदस्य वीरेन्द्रसिंह कार्की नियुक्त गरेका छन् । यसअघि पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूणर्बहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय सदस्य राणाको संयोजकत्वमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमिति गठन गरेका थिए ।–रासस