सोसल मिडिया
Contact Us
युनिकोड
तनहुँ, १८ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता भएको बताएका छन् । एक सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांगे्रस तनहुँद्वारा आज दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको बताउनुभयो । गठबन्धन बीचको चुनावी तालमेलले राम्रो परिणाम ल्याउने उनको दाबी थियो । “यही सरकारलाई संसदीय चुनावसम्म जोगाइ राख्न गठबन्धन दलबीच चुनावी तालमेल गरिएको हो’’, नेता पौडेलले भने । लोकतन्त्र, स्थायित्व र उपलब्धिको रक्षा गर्न कांग्रेस गठबन्धन दलबीच तालमेल गरेर अगाडि बढेको उनको धारणा थियो । देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन श्रमिकले खेलेको भूमिका महत्वपूर्ण रहेको नेता पौडेलले बताए । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, ट्रेड युनियन कांगे्रस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खले, उपाध्यक्ष लोकराज सेढाइलगायतकाले मजदुरको गास, बास र कपासको व्यवस्थाका साथै सामाजिक सुरक्षामा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।
अघिल्लो निर्वाचनमा कांग्रेस कमजोर हुँदा विकास प्रभावित : प्रवक्ता डा महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले २०७४ सालको निर्वाचनमा कांग्रेस कमजोर हुँदा स्थानीय तहको विकास प्रभावित भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा निर्वाचनको माहोल बन्दै गएको बताए । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका उनले भने, “स्थानीय निकायको संस्थागत स्वःमूल्याङ्कनमा कांग्रेसले सम्हालेका निकाय अब्बल प्रमाणित भएकाले निर्वाचनमा हाम्रा उम्मेदवार विजयी हुनेमा विश्वस्त छौँ ।” यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका ७५३ स्थानीय तहका ३५ हजार २२१ पदमा सत्तारूढ गठबन्धनका तर्फबाट प्रायः उम्मेदवारी परेको छ । लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट जारी गरिएको सङ्घीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि भन्दै कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने सहमति भएको छ । निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुखमा २६२, अध्यक्षमा ३७२, उपप्रमुखमा १९४, उपाध्यक्ष ३४०, वडाअध्यक्ष ६ हजार ४३, महिला सदस्यमा पाँच हजार ९३८, दलित महिला सदस्यमा पाँच हजार ६९१, अन्य सदस्यमा ११ हजार ७८८ गरी जम्मा ३० हजार ६२८ उम्मेदवारी परेको छ । कांग्रेसका आधिकारिक उम्मेदवारको विरुद्ध तथा गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिने कांग्रेसका अधिकांशले उम्मेदवारी फिर्ता लिइसकेको जानकारी दिँदै उनले फिर्ता नलिनेको हकमा उम्मेदवारसहित निजका प्रस्तावक र समर्थकको पार्टी सदस्यता स्वतः निष्कासन हुने प्रावधान क्रियाशील भएको बताए । “तथापि प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनु भएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिनेको हकमा यो प्रावधान लागू हुने छैन,” प्रवक्ता महतले भने । कांग्रेसका सबै तहका संरचना र भ्रातृ तथा शुभेच्छुक सङ्गठन पार्टीका आधिकारिक उम्मेदवार प्रचार–प्रसार अभियानमा जुटेका छन् । निर्वाचन अभियानलाई मर्यादित, अनुशासित र सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न विभिन्न समिति र उपसमिति गठन गरिएका छन् । साथै कांग्रेसका सबै तहका संरचनाअन्तर्गत प्रचार–प्रसार र निर्वाचन परिचालन उपसमिति गठन गरिएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाले पनि केन्द्रदेखि स्थानीय तहसम्म प्रचार–प्रसार र निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचन अभियानलाई गति दिइएको छ । यसबाहेक पार्टीले प्रदेश १ को मोरङमा यही वैशाख २१ गते, मधेस प्रदेशको धनुषामा वैशाख २२ गते, बागमती प्रदेशको काठमाडौँमा वैशाख २३ गते, गण्डकी प्रदेशको कास्कीमा वैशाख २४ गते, लुम्बिनी प्रदेशको रुपन्देहीमा वैशाख २५ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २६ गते र सुदूरपश्चिमको कैलालीमा वैशाख २७ गते आमसभा गर्ने तयारी गरेको नेता महतले जानकारी दिए ।