सिसडोलबासी आन्दोलित

१८ बुँदे माग
शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं । विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य र विकास–निर्माणसहितका माग मंसिर २० भित्र पूरा नगरिए फोहोर फाल्न नदिने अडान लिएका छन् । अन्य मागमा वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानवीय स्वास्थ्यको पूर्ण ग्यारेन्टीसहित जीवन बिमा गर्नुपर्ने, विकास–निर्माणका काम स्थानीयले भनेअनुसार तत्काल सुरु गर्नुपर्नेलगायत छन् । 
राजनीतिक दलका सीमित व्यक्तिको प्रभावमा प्रभावित क्षेत्रभित्र जग्गा अधिग्रहण हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनास्टका आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने माग पनि उनीहरूको छ  ।  स्थानीय दिनेश कार्कीले बन्चरे डाँडामा ल्यान्डफिल साइट तयारी अवस्थामा रहे पनि माग पूरा नभएसम्म फोहर फाल्न नदिने बताए । ‘जनताका न्यूनतम मागसमेत पूरा नगरी फोहोर फाल्ने तयारी भएपछि आन्दोलित भएका हौं’, उनले भने ।
यातायात, शिक्षा, स्वास्थ्य, पशुबिमा, बालीबिमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास–निर्माणका लागि १६ वर्षदेखि विनियोजित रकमको हिसाबकिताब गर्नुपर्ने, ८० शैयाको अस्पताल तत्काल निर्माण गर्नुपर्ने उनीहरूको माग छ । वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढंगमा कायम गर्नुपर्ने र फोहोरको प्रभावबाट मानिस, पशुपक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेन्टी गर्नुपर्ने स्थानीयको भनाइ छ । अर्का स्थानीय रामचन्द्र ढुंगानाले स्थानीयले अहिलेसम्म काठमाडौंको फोहोर मात्रै खाएको बताए । माग व्यवस्थापन नभएसम्म फोहोर फाल्न नदिने उनको भनाइ छ । स्थानीयले फोहोरमैला व्यवस्थापन बसोबासरहित स्थानमा हुने गरी जग्गा अधिग्रहण गर्नुपर्ने बताएका छन् । फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ । ककनी गाउँपालिका–३ का वडाध्यक्ष घनश्याम बजगाईले फोहोरमा राजनीति नगर्न आग्रह गरे । काठमाडौं महानगरले आफूहरूमाथि मानवीय व्यवहार नगरेको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे । वाग्मती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताए । ‘फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्छ’, उनले भने । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बन्चरेडाँडामा व्यवस्थापन गर्ने तयारी भइरहेको छ । स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार