रोल्पाको माडीमा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप

काँग्रेसका उम्मेदवार घाइते 
बिहीबार, वैशाख २२, २०७९

रोल्पा, २२ वैशाख । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ ।  झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए । उनलाई उपचारका लागि दाङतर्फ लगिएको छ । 
बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए । झडपलगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । “अहिले अवस्था सामान्य छ”, उनले भने । 
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बिहीबार, वैशाख २२, २०७९