माधव नेपालको टिप्पणी- केपी ओलीले गफमा विद्यावारिधि गरे 

बिहीबार, वैशाख २२, २०७९

चितवन, २२ वैशाख । एमाले अध्यक्ष केपी ओलीले गफमा विद्यावारिधि गरेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । चितवनमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले गफमा ओलीले विद्यावारिधि गरेको टिप्पणी गरेका हुन् । 

‘ओलीले गफमा विद्यावारिधि गरेका छन् । झुटको पुलिन्दा छर्न सक्छन् । समयमा बुझ्नु भएन भने फुर्सदमा पछुताउनु पर्ला,’ उनले भने, ‘यहि भरतपुरमा २०६२ को जनाअन्दोलनको जुलुसको अगुवाइ गरेको थिएँ । अहिले पनि केपी ओलीको प्रतिगमनविरुद्ध  एकतावद्ध नभएको भए संविधान कागजको खोस्टोमा परिणत हुने थियो ।’ 

एमालेको आवश्यकता र औचित्य सकिएको दाबी गर्दै एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेका नेपालले भने, ‘एमालेमा फर्सी फलाएको मैले नै हो । तर, त्यो फर्सी कुहिसकेको छ । वाम लोकतान्त्रिक गठबन्धनलाई नोक्सान हुने गरि कोही लाग्न हुँदैन ।’ 

रेणु दाहालले भरतपुरको विकासको लागि अघि बढ्न मेयरमा उम्मेदवारी दिएको भन्दै उनले  भने, ‘भरतपुरमा दुई मत छैन । रेणु दाहाल विकासको लागि अघि बढ्ने मेयर पाएका छौँ भन्छन् जुन मान्छेलाई सोध्दा पनि । नमुना नगरको रुपमा भरतपुरलाई विकास गर्नु छ ।’
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार