सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताएका छन् । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताएका हुन् । गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै उनले भने, “गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ ।” तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०÷२० वर्ष गठबन्धनलाई कायम राख्ने उनको प्रतिबद्धता थियो । उनले विसं २०४६ देखि कम्युनिष्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराए । उनले भने, “तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।” उनले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताए । “यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासी जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०÷२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ ।” उनले यसअघिको निर्वाचनमा सोचे अनुरुपको परिणाम नआएपछि गठबन्धन नयाँ ढङ्गले अघि बढेको प्रष्ट्याए । गठबन्धन कम्युनिष्ट पार्टीहरुसँग गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रष्ट कुरा भएको उनको भनाइ थियो । उनले भने, “हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ, तपाईहरुको साथ र सहयोग भयो भने यो निरन्तर अघि बढ्छ ।” यो प्राकृतिक गठबन्धन भएको भन्दै उहाँले वृहत शान्ति सम्झौतामा सहभागी भएका दलहरुबीचमा गठबन्धन भएको बताए ।
गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्छ : नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनका लागि स्थानीय तहको निर्वाचनमा गठबन्धनले जित्नु आवश्यक रहेको बताए । पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएको भन्दै उनले गठबन्धन दललाई केही न केही फाइदा भएको बताए । उनले भने, “अहिले पनि कतिपय ठाउँमा मिलेको छैन । म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।” दलहरुबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्दै उनले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको बताए । उनले भने, “दुई पटकसम्म संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो ।” प्रतिगमनकारी कदमको हामीले विरोध नगरेको भए देश अवनतिको बाटोमा जान सक्ने नेपालले बताए । दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्ने र लोकतान्त्रिक गठबन्धनलाई आघात पुग्ने गरी नलाग्न उनले आग्रह गरे । भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने उनको भनाइ छ । उनले भने, “रेनुलाई पुष्पकमल दाहालको छोरीका रुपमा मात्रै हेर्नुहुन्न, कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।”–रासस