काठमाडौँलाई व्यवस्थित बनाउन सिर्जना सिंह उपयुक्त उम्मेदवार : पूर्वप्रधानमन्त्री भट्टराई

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौँ, २३ वैशाख । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाउन सिर्जना सिंह महानगर प्रमुखको उपयुक्त उम्मेदवार भएको बताएका छन् ।
गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले यहाँ आयोजना गरेको ‘शुभकामना कार्यक्रम’ मा बोल्दै उनले लोकतान्त्रिक संस्कार भएकी सिंह काठमाडौँ महानगरको उपयुक्त उम्मेदवार भएको बताए ।
“सिर्जना गणेशमान, मङ्गलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा नेता हुनुहुन्छ, उहाँ मेयरको स्वभाविक हकदार हुनुहुन्छ, उहाँको जीत सुनिश्चित छ”, उनले भने ।
राजनीतिक व्यक्तिलाई परिवारसँग जोडेर सिंहबारे कुप्रचार गर्न खोजेको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री भट्टराईले जनताको मेयर बनेर सिंहले काम गर्ने विश्वास समेत व्यक्त गरे । मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र  नमूना राजधानी निर्माण गर्नका लागि आफूसमेत मेयरको उम्मेदवार बन्न खोजेको उनले स्मरण गरे । पूर्वप्रधानमन्त्री भट्टराईले सिंह काठमाडौँको मेयर निर्वाचित भएपछि गोरखा–काठमाडौँ सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सिंह गोरखाको राजनीतिकर्मी भएको कारण गणेशमान सिंहको परिवारसँग नाता जोडिएको बताउँदै उनको उम्मेदवारबारे गलत प्रचार नगर्न सबैलाई आग्रह गरे । “सिर्जनालाई काठमाडौँको मेयरमा निर्वाचित गराउन सम्पूर्ण गोरखावासी एक भएर अगाडि बढौँ, जित पक्का छ”,  उनले भने ।
नेता श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धनले साझा उम्मेदवारका रुपमा सिंहलाई अगाडि सारेको भन्दै उनलाई निर्वाचनमा जिताउनका लागि सबै लाग्नुपर्ने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखाली चेलीलाई कांग्रेसले सङ्घीय राजधानी काठमाडौँको मेयरको उम्मेदवार बनाउनु सारा गोरखालीका लागि खुसीको कुरा भएको बताए ।
“गणेशमान सिंहको राजनीतिक परिवारलाई कुशल व्यवस्थापन गरेजस्तो काठमाडौँ महानगरपालिकालाई पनि सिर्जना सिंहले राम्रो व्यवस्थापन गर्ने विश्वास हामीले लिएका छौँ”,  उनले भने ।
कांग्रेस नेत्री एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीजस्तो कुशल राजनीतिकर्मीलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताइन् । “उहाँ कसैको बुहारी, श्रीमती र छोरीमात्र नभई कांग्रेसको कुशल सङ्गठक हो”, पन्तले भनिन् ।
कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले सङ्घीय राजधानी काठमाडौँले योग्य महिला उम्मेदवार पाएको भन्दै उनलाई विजयी गराउन सबै लाग्नुपर्ने बताइन् । “न्याय नपाए गोरखा जानु भन्ने उखानलाई सार्थक बनाउनका लागि काठमाडौँका जनताले सिंहलाई विजय गराएर न्याय दिनुपर्छ”, उनले भनिन् ।
कांग्रेस नेता चीरञ्जीवी वाग्ले, पूर्वसांसद जीवनप्रेम श्रेष्ठ, नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष हरिराम श्रेष्ठ, नेपाल इञ्जिनीयरिङ काउन्सिलका सदस्य ई होमनाथ पोखरेललगायतले सिंहको विजय सारा गोरखालीको विजय भएको भन्दै उनलाई जिताउनका लागि सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए ।

काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्छु : नेत्री सिंह
गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताएकी छन् ।
गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज आयोजना गरेको ‘शुभकामना कार्यक्रम’मा उनले आफू प्रमुखमा विजयी भए महानगरीय स्वास्थ्य प्रणालीको विकास गर्न प्रत्येक वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताइन् ।
“ज्येष्ठ नागरिक, अपाङ्ग, अति विपन्न व्यक्तिको उपचारका लागि सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका साथै विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्दछु”, उनले भनिन् ।
नेत्री सिंहले अस्तव्यस्त काठमाडौँ महानगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन आफू लाग्ने बताइन् ।
“म राजनीतिककर्मी हुँ, राजनीतिक परिवारमा विवाह गरेर घर सम्हाल्दै गर्दा पद लिने अवसर पाइन, अब पद लिनका लागि तपाईँहरुका अगाडि आएको छु, मलाई प्रमुखमा विजयी गराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भनिन् ।
उनले काठमाडौँ महानगरभित्र बस्ने सम्पूर्ण बासिन्दाको शिर ठाडो हुनेगरी आफूले काम गर्ने बताइन् । उनले महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने, युवालाई उद्यमी बनाउने, महानगरभित्र रहेका विभिन्न क्लबलाई खेलकूद क्षेत्रमा जोड्नेलगायतका काम आफूले गर्ने स्पष्ट पारिन् ।
नेत्री सिंहले काठमाडौँ महानगरलाई भ्रष्टाचारमुक्त महानगर बनाउँदै महानगरभित्रका सेवा सुविधालाई चुस्तदुरुस्त बनाउँदैै सुशासन कायम गराउने उल्लेख गरिन् । काठमाडौँ भित्रको सधैँ चर्चामा आउने फोहर व्यवस्थापन र ढल व्यवस्थापनलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शुक्रबार, वैशाख २३, २०७९