रोल्पामा माओवादीको प्रतिस्पर्धी नेपाली काङ्ग्रेससँग,यी हुन काङ्ग्रेसका बलिया प्रतिस्पर्धी  

शुक्रबार, वैशाख २३, २०७९

रोल्पा, २३ वैशाख । माओवादीको आधार क्षेत्र रोल्पामा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीको प्रतिस्पर्धा नेपाली काङ्ग्रेससँग हुने देखिएको छ । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी चहल पहल पनि बढदै गएको छ । 
एक नगरपालिकासहित दसवटा स्थानीय तह रहेको रोल्पामा यसपटकको स्थानीय तहको निर्वाचनमा रोल्पाका तीन गाउँपालिकामा नेकपा माओवादीसँग कडा प्रतिस्पर्धा हुने नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाली काङ्ग्रेस रोल्पाका पूर्व क्षेत्रीय सभापति देबेन्द्र बोहराले बताए ।

 
युवा नेता बोहराका अनुसार रोल्पाको रुन्टिगढी , गङ्गादेब र लुङ्ग्री गाउँपालिकामा नेपाली काङ्ग्रेस अग्र स्थानमा रहेको र सुनिल स्मृति गाउँपालिकामा समेत जितको सम्भावना अगाडि बढेको छ । उनले अगाडि भने, ‘जितको नतिजा हेर्न मात्र १० दिन धैर्य गर्नुपर्ने  छ ।’ 
नेता बोहराका अनुसार यो पालिको चुनावमा रोल्पाको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष पदका  नेपाली काङ्ग्रेसका उम्मेदवार जनक पुन सबैभन्दा बलिया उम्मेदवार हुन् । दक्षिणी रोल्पाका चर्चित समाजसेवी भएका कारण उनी जनतामाझ लोकप्रिय छन् । त्यसै गरी नेपाली काङ्ग्रेसका लुङग्री गाउँपालिका उम्मेदवार जनक खड्का र गङगादेब गाउँपालिकाका उम्मेदवार हरि पुन पनि बलिया उम्मेदवार भएकाले नतिजा नेपाली काँंग्रेसको पक्षमा आउने उनको विश्वास छ ।

 
रोल्पाको रोल्पा नगरपालिका, रुन्टिगढि गाउँपालिका, लुङ्ग्री गाउँपालिका, गङगादेब गाउँपालिका र सुनिल स्मृति गाउँपालिका गरि पाँच स्थानीय तहमा नेपाली काङ्ग्रेस , नेकपा माओवादी , नेकपा एमाले र अन्य साना दल अलगअलग प्रतिस्पर्धा गर्दै छन् भने त्रिवेणी गाउँपालिका, माडि गाउँपालिका, परिवर्तन गाउँपालिका, थबाङ गाउँपालिका र सुनछहरी गाउँपालिका गरी पाँच  गाउँपालिकामा भने नेकपा माओवादीसँग चुनावी प्रतिस्पर्धा गर्न माओवादी बाहेकका नेपाली काङ्ग्रेस , नेकपा एमाले , नेकपा विप्लब र अन्य केही साना दलको  गठबन्धन बनेको छ । चुनावी गठबन्धन बनेका कारण माडि गाउँपालिका र थबाङ गाउँपालिकामा पनि कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

रोल्पा नगरपालिका , परिवर्तन गाउँपालिका र त्रिबेणि गाउँपालिकामा भने नेकपा माओवादी पार्टीले जित हासिल गर्न सक्ने स्थानीयको आकलन छ। नेकपा माओवादीका एक स्थानीय नेताका अनुसार भने रोल्पामा नगरपालिका सहित कम्तिमा ६ स्थानीय तहमा जित हासिल गर्ने छ । यता नेकपा एमालेले पनि जिल्लाका तीन पालिकामा आफुले जित हासिल गर्ने दाबी गर्दै आएको छ । यसै गरी स्वतन्त्र उम्मेदवार दिएकाहरूले पनि तीन स्थानमा जित हासिल गर्ने दाबी गर्दै आएका छन्। गत स्थानीय तहको निर्वाचनमा रोल्पामा नेकपा माओवादीले नगरपालिका सहित सात स्थानीय तह, नेकपा एमालेले दुई स्थानीय तह र नेपाली काङ्ग्रेसले एक स्थानीय तहमा जित हासिल गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार