सोसल मिडिया
Contact Us
युनिकोड
रामपुर (पाल्पा), २३ वैशाख । निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यालयले मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएको छ । यसभन्दाअघिका निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएकामा यसपटक सो कार्यक्रम नगर्ने भएकाले कांग्रेसले नै यसलाई निरन्तरता दिएको हो । मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । मतदानसम्बन्धी जानकारी नहुँदा निर्वाचनमा मत बदर हुने गरेकाले कांग्रेसले चुनावी घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि अभियान चलाएको हो ।चुनावको चहलपहल सुरु भएपछि आयोगले नै घरघरमा मत कसरी दिने भनेर सिकाउन आउने गरेकामा यसपटक उम्मेदवार तथा नेताहरुले नै सिकाउन आएको स्थानीय बृद्धा टीकामाया दर्जीले बताए। “मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्छ, यसभन्दाअघि धेरैपटक मतदान गरे पनि बुढेसकालका कारण बिर्सदै जाने रहेछ, हामीजस्ता ज्येष्ठ सदस्यका लागि मतदाता शिक्षा कार्यक्रम आवश्यक छ”, उनले भने । रम्भा गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष विष्णु थापाले पालिकाका वडा, टोलटोलमा पुगेर मतदाता शिक्षाबारे जानकारी दिइरहेका छन । मतदातासँग मत माग्ने मात्रै होइन उनीहरुलाई मतदानबारे जानकारी दिनु आफ्नो दायित्व रहेको उनले बताए । उपाध्यक्ष थापाले भने, “पाँच वर्षअघि भएको मतदान प्रक्रिया कतिपयले भुलेको पनि हुनसक्छ, सक्षम, र योग्य उम्मेदवार छनोट गर्न पाउने अधिकार मतदातालाई छ, त्यसकारण पनि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेकामा हामी आफैँले यसबारेमा टोलटोलमा पुगेर शिक्षा दिइरहेका छौँ ।” बगनासकाली गाउँपालिकामा नेपाली कांग्रेसकोतर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएकी सुनिता अधिकारी पनि यतिबेला आफ्ना मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छन् । उनी भन्छन्, “मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपछि कतिपय मतदाता मतदान गर्ने तरिकामै अल्मलिएका छन्, मत बदर हुन नदिन घरघरमा पुगेर उनीहरुलाई सचेत गराइएको हो ।” थानेश्वर तिमिल्सिना पनि मत बदर हुन नदिन नागरिकलाई सचेत बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । बगनासकाली गाउँपालिका–९ मा उहाँ वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । यहाँका उम्मेदवारसहितका नेता कार्यकर्ताले नमूना मतपत्र लिएर मतदान गर्न सिकाइरहेका छन् । मतपत्रमा धेरै चिह्नमा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रियामा कोही अल्मलिनु नपरोस् भनी नमूना मतपत्र बोकेर घरघरमा मतदान गर्न जानकारी दिने गरिएको छ । विगतका निर्वाचनलाई नियाल्दा निर्वाचन आयोगले घरघरमा प्रतिनिधि खटाएर मतदाता शिक्षाबारे जानकारी दिने गरेको थियो । यसोगर्दा पनि मत बदर भएकै हुन्थ्यो । तिनाउँ गाउँपालिकामा गठबन्धनका उम्मेदवारले घरदैलोमा पुगेर मतदाता शिक्षासँगै जनताको अपेक्षा सङ्कलन गरिरहेको उपाध्यक्ष पदका उम्मेदवार लालबहादुर थापाले बताए ।
मतदाताका घरदैलोमा उम्मेदवार
विभिन्न राजनीति दलका उम्मेदवारले मतदाता रिझाउन घरदैलो गर्ने कामलाई तीव्रता दिइरहेका छन् । पर्सा जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज सहित तीन नगरपालिका र ११ गाउँपालिकाका छन् । ती दल तथा स्वतन्त्र उम्मेदवार आ–आफ्नो पार्टीको घोषणापत्रसहित स्थानीयस्तरका विकास निर्माणका एजेण्डा राखेर प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न व्यस्त देखिन्छन् । फरकफरक शैलीमा फरकफरक राजनीतिक दलका वा स्वतन्त्ररुपमा उम्मेदवार दिएका सबैजसो उम्मेदवार सकेसम्म सबै मतदाताको घरदैलोमा पुग्ने गरी उम्मेदवारले बिहानदेखि रातिसम्मै प्रचारप्रसारमा लागेका छन् । पालिकावासीको समृद्धिका लागि खटिने प्रण गर्दै उम्मेदवारले आवश्यकताअनुसार पालिकाको विकास निर्माणलगायतका चौतर्फी विकास गर्ने एजेण्डा मतदाताका माझ उम्मेदवारले प्रस्तुत गर्दै आएका छन् । मतदाता पनि यस पटक उम्मेदवारले चुनावी एजेण्डा वा प्रतिबद्धता सार्वजनिक गरे पनि अधिकांश उम्मेदवार निर्वाचन जितेपछि यसअगावै निर्वाचनमा विजयी भएको उम्मेदवारले यसबारे सतप्रतिशत कार्यान्वयनमा जोड नदिएको आरोप लगाउँदै आएका छन् । यसरी प्रत्यासीले प्रतिबद्धता व्यक्त गरेर मतदातालाई आ–आफ्नो पक्षमा रिझाउने कसरत तीव्र बनाइरहँदा कतिपय मतदाताले भने महत्वाकाङ्क्षी र ठूला आश्वासन बाँड्न थालिएको भन्दै टिप्पणी गर्न थालेका छन् । वीरगञ्ज महानगरपालिकाबाहेक अन्य सबैजसो पलिकामा राजनीतिक दलहरुबीच चुनावी तालमेल देखिएको छैन । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीच तालमेल भएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीच चुनावी तालमेल भएको छ । महानगरपालिकाबाहेकका अन्य पालिकामा राजनीतिक दलहरु बीच खासै तालमेल भएको छैन । जिल्लामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७ र महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६ छन् ।–रासस