मधेसमा बुबा–आमाको नागरिकता हुने तर छोराछोरीको नहुने स्थिति लज्जास्पद : प्रचण्ड

शनिबार, वैशाख २४, २०७९

काठमाडौं, २४ वैशाख  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् ।

जसलाई प्रचण्डले ‘लज्जास्पद’ स्थिति भनेका छन् । उनले नागरिकता समस्या गम्भीर र जटिल भएको तर समस्यालाई समाधान गर्न चाहेको बताए ।  

मधेस प्रदेशको धनुषास्थित मिथिला नगरपालिकामा आज पार्टी कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अध्यादेश ल्याएर नागरिकता समस्या समाधान गर्न खोजिँदा सर्वोच्च अदालतमा रिट परेको र रिटको सुनुवाइ गर्दै अदालतले संसद्बाटै छलफल गरेर निर्णय गर्न आदेश दिएको बताए ।

‘मधेसमा नागरिकताको समस्या अलिक गम्भीर र जटिल रूपमा रहेको छ । मैले पनि पहिले पनि भनेको छु, यो नागरिकताको समस्या छिटोभन्दा छिटो समाधान गरिनुपर्छ’, प्रचण्डले भने, ‘गठबन्धनको सरकार बनिसकेपछि  प्रधानमन्त्रीसँग र गठबन्धनका सबै नेतहरूसँग नागरिकता समस्या टुंग्याउनेबारे अध्यादेशबारे अदालतमा रिट पर्‍यो अदालतले संसद्बाटै छलफल गरेर निर्णय लिनू भनेको छ ।’

तर, संसद् भने प्रमुख विपक्षी नेकपा एमालेले चल्न नदिएको प्रचण्डले आरोप लगाए । संसद् चलेको भए नागरिकता समस्या समाधान गर्न ऐन कानुन बन्ने उनको दाबी छ।

उनले नागरिकताकै कारण मधेसमा धेरै युवायुवतीले जागिर खान नपाएको भन्दै चिन्ता पनि प्रकट गरे ।

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार