रुकुमपूर्वमा मादकपदार्थ सेवन, बिक्री वितरण पूर्ण रुपमा बन्द

शनिबार, वैशाख २४, २०७९

रुकुमपूर्व, २४ वैशाख । रुकुमपूर्वमा भोलिदेखि (वैशाख २५ गतेबाट) मादकपदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइने भएको छ । स्थानीय तहको चुनावलाई लक्ष गरेर जिल्लाभरी नै २५ गतेदेखि मत परिणाम घोषणा नहुँदासम्म पूर्णरुपमा मादकपदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले गरेको हो ।
बैठकले मतदानका दिन सबै मतदानस्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्न र साथमा लिइ नआउन अनुरोध गर्नाका साथै  अत्यावश्यक वस्तु एवं सेवाको आपूर्ति व्यवस्था सहज बनाइराख्न पनि भनेकोे छ ।
स्वास्थ्य, खानेपानी, टेलिफोन, विद्युत्, अस्पतालबाट दिइने अत्यावश्यक सेवाहरु निरन्तररुपमा उपलब्ध हुने व्यवस्था मिलाउन र कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गरी निर्वाचन गतिविधि सञ्चालन गरउने  निर्णय गरिएको छ । वैशाख ३० गते मतदानका दिन अनुमति प्राप्त गरेका सवारीसाधनबाहेक आम सवारीसाधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्ने निर्णय पनि सर्वपक्षीय बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा जिल्लास्थित सुरक्षा निकाय एवं विभिन्न राजनीतिक दलका प्रमुख तथा  प्रतिनिधि, यातायात, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकारको उपस्थिति थियो ।

बैतडीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

बैतडीमा यही वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मतपरिणाम नआउँदासम्मको अवधिमा मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरणमा र सेवनमा रोक लगाउने निर्णय भएको हो ।
मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको र कसैले निर्णयविपरीत काम गरेको पाइएमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा सम्पन्न सर्वपक्षीय बैठकमा राजनीतिक दलका जिल्लास्थित प्रतिनिधि तथा व्यवसायीको  सहभागिता थियो ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
शनिबार, वैशाख २४, २०७९