शुक्रबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध

शनिबार, वैशाख २४, २०७९

डोटी, २४ वैशाख । शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ ।
बुडर इलाका प्रहरी कार्यालयका अनुसरा शुक्रबार दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा बुडरमा रहेको रेडियो घण्टेश्वर एफएम बन्द भएको र ती क्षेत्रमा सञ्चार सम्पर्क पनि बन्द भएको स्थानीयवासी भक्तबहादुर लामाले बताए ।
यसैगरी शुक्रबारको हावाहुरीका कारण जिल्लाका दजनौँ घरका छाना उडाएको मौखिक खबर आएको प्रहरीले जनाएको छ ।

हिमा गाउँपालिका सातादेखि टेलिफोनविहीन

जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेका छ । टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमासमेत समस्या आएको जनाइएको छ ।
टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए ।
नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले टेलिफोनविहीन अवस्था भएको हो । कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले भने, “टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाडौँबाट मगाइएको छ, आइपुगेपछि टेलिफोन सञ्चालनमा ल्याइनेछ ।”
टेलिफोन बिग्रिएको खबर पाएपछि नेपाल टेलिकमको प्राविधिक टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको थियो । निर्वाचनका समयमा टेलिफोनमा अवरुद्ध आएपछि आपसी सञ्चार र समन्वय गर्न कठिन भएको राजनीतिक दलका स्थानीय नेता तथा उम्मेदवारले गुनासो गरिरहेका छन् ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार