सोसल मिडिया
Contact Us
युनिकोड
तनहुँ, २५ वैशाख । यही वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् । मत माग्न आउने उम्मेदवारसँग पानीको चरम समस्या रहेकाले घरघरमा पानीको धारा जडान गरिदिने उम्मेदवारलाई भोट दिने योजना बनाइएको व्यास नगरपालिका–५ पतेनीका नवराज पौडेल बताउँछन् । सदरमुकामबाट करिब तीन किलोमिटर दूरीमा रहे पनि विकासमा पछि पारिनुका साथै खानेपानीको चरम समस्या रहेकाले माग सम्बोधन गर्ने उम्मेदवारलाई भोट दिने वडावासीको योजना रहेको उनले बताए । विसं ०६१ देखि खानेपानीको चर्को समस्या भोग्दै आएकाले जसले घरघरमा पानीको धारा जडान गरिदिन्छ उसैलाई भोट दिइने उनले बताए । उनका सडकको अवस्था हेर्यो भने उस्तै नाजुक अवस्था छ । अर्कोतर्फ बिहान र बेलुकाको समयमा मुस्किलले दुईदेखि पाँच गाग्री पानी पाउन पनि मुस्किल भएको स्थानीयवासी बताउँछन् । सोही वडास्थित साँघे दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले टोल बस्तीमा खानेपानीको एकदमै समस्या रहेकोले हाम्रो समस्याको समाधान गरिदिने नेतालाई भोट दिएर जिताउने बताउनुभयो । उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनी र काउरालगायतका चार टोलका बासिन्दामा खानेपानीको हाहाकार नै रहेको छ । करिब बीस वर्षदेखि पानीको चरम समस्या खेप्दै आएको स्थानीय शान्ता परियारले बताउनुभयो । पानी अभावका कारण ट्याङ्करबाट पानी किनेर जीविकोपार्जन गर्नुपर्ने समस्या स्थानीयवासीको छ ।
दुई हजार लिटर पानी रु तेह्र सयमा खरिद गरेर घरपरिवार चलाउँदै आएको स्थानीय जगदिश काफ्ले बताउनुहुन्छ । साँघे र मादी नदीको बीचमा रहेर पनि खानुपानीबाट वञ्चित हुनु लजास्पद कुरा भएको स्थानीय एवं शिक्षिका अम्बिका बास्तोला बताउछिन् ।
त्यसैगरी व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जुन नेताले मादीनदी कटान क्षेत्रलाई संरक्षण गरी विकास गर्छन् उसैलाई भोट दिने योजना बनाएको बताए । अघिल्ला वर्षमा निर्वाचित जनप्रतिनिधिले हाम्रा समस्याप्रति सुनुवाइ नगरेकाले सक्षम र विकासप्रेमी नेतालाई भोट दिने विषयमा स्थानीयवासीबीच छलफल भएको उनले बताए । गत वर्ष मादी नदीमा आएको बाढीले त्यस क्षेत्रका करिब ६०० घरपरिवार जोखिममा रहे पनि जनप्रतिनिधि आएर आश्वासन दिनेभन्दा अन्य काम हुन नसकेको उनले बताए । खानेपानी, मादी नदी कटान क्षेत्र संरक्षण, सडकलगायतका विकास निर्माणमा प्राथमिकता दिने नेतालाई भोट दिएर जिताउने अभियानमा पाटनवासी रहेको उनले बताए ।
दुःखसुखमा जनताकै साथमा हुनेछु : श्रममन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हरेक दुःखसुखमा जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–१० कोटसभामा आयोजित चुनावी सभामा श्रममन्त्री श्रेष्ठले आफू जनताकै प्रतिनिधि भएकाले जनताको दुःख, सुख र पीरमर्कामा आफू सदैव जनताकै पक्षमा रहने विश्वास दिलाए । श्रममन्त्री श्रेष्ठले जनताकै माया र समर्थनले प्रतिनिधिसभा सदस्य हुँदै मन्त्रीसम्म बनेको उल्लेख गर्दै भने, “मन्त्री भएर तनहुँको इज्जत राख्ने काम गरेको छु ।” मन्त्री श्रेष्ठले जिल्लाको विकासमा कसैलाई पनि भेदभाव नगरी काम गरेको बताए । मन्त्री श्रेष्ठले भानुका खानेपानी, सडक, पूर्वाधार निर्माणका लागि कामहरू भएको बताए । सानासाना विकासका योजना वडा र नगरपालिकाले गर्नुपर्ने र ठूला तथा दीर्घकालीन योजनालाई सङ्घीय सरकारले प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको भन्दै मन्त्री श्रेष्ठले देश विकास र समृद्धिका लागि कलम चिह्नमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा एकीकृत समाजवादीका तर्फबाट उपप्रमुखका उम्मेदवार श्रीराम पौडेलले समृद्ध भानु ः खुसी भानुवासी बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा होमिएको बताए । नगरवासीलाई सीपयुक्त बनाउन हरेक वडामा सीप केन्द्र स्थापना गर्ने योजना लिएको पौडेलले बताए ।–रासस