सोसल मिडिया
Contact Us
युनिकोड
दार्चुला, २५ वैशाख । पाँच वर्षअघि व्यास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दिलीपसिंह बुढाथोकीले जित हासिल गरे । उनले छाङ्गरु र तिङ्करवासीलाई भेट्दै पाँच वर्षमा निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणमा तीव्रता र छाङ्गरु तथा तिङ्करसम्मको गोरेटो बाटो पुनःनिर्माण गरेर नेपालकै बाटो भएर आवतजावतको व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए । पाँच वर्षको अवधिमा छाङ्गरु तिङ्करवासीका लागि न गोरेटोबाटो सञ्चालनमा आयो, न सडकले नै तीव्रता पायो । पञ्चायतकालमा नेपालकै बाटो भएर स्थानीय बसाइँसराइ कुञ्चा सर्ने गर्थे । आवतजावत नेपालकै बाटो भएर हुन्थ्यो । गणतन्त्र आएपछि यो बाटो पूर्णरूपमा बन्द भयो । “स्थानीय सरकार आएपछि करोडौँ बजेट आयो, तर छाङ्गरु तिङ्करका नागरिकको लागि बाटोसमेत बनाउन सकेनन्”, व्यास–१ का दानसिंह तिङ्करीले भने । यहाँसम्म पुग्ने बाटो र सडकका बारेमा हरेक मन्त्री, प्रशासक, सांसद र मुख्यमन्त्रीसम्मलाई भनेकै छन् । अहिलेसम्म यहाँका समस्याबारे कुनै निकायबाट सम्बोधन हुन नसकेको तिङ्करीको गुनासो छ । सरकारले भारतले अतिक्रमण गरेको भूगोल समेटर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि यो क्षेत्रमा उच्च पदस्थको दर्जनौँ पटक भ्रमण भयो । हरेक पटकका भ्रमणमा व्यासवासीले छाङ्गरु र तिङ्कर पुग्न सहज बाटो तथा चीनसँगको व्यापार सहज गर्न तिङ्करलाई व्यापारिक नाका र अध्यागमन कार्यालय राख्नुपर्ने माग अघि सारिरहे । उनीहरूको मागमाथि तीन तहकै सरकारले सुनुवाइ गर्न नसकेको स्थानीय बताउँछन् । “सबैभन्दा नजिकको स्थानीय सरकारले पनि साधारण बाटोसमेत बनाउन सकेन”, तिङ्करी भन्छन् । अहिले पनि व्यास गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट दिलीपसिंह नै अध्यक्षको उम्मेदवार हुन् । “अहिले पनि सोही बाटो र सडकको विषयलाई लिएर मतदातासामु भोट माग्न आएका छन्”, स्थानीय बसन्ती बुढाथोकीले भनिन्, “तर माग पूरा गर्नेमा विश्वास छैन ।” व्यासमा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मङ्गलसिंह धामीले पनि दार्चुला–तिङ्कर सडक निर्माण प्राथमिकता र गोरेटो बाटो सञ्चालन गर्ने नारा अघि सारेका छन् । व्यासका नागरिकले भने आफूहरूले विगत तीन वर्षदेखि भारतीय बाटोको प्रयोग गर्नुपरेको दुखेसो सुनाएका छन् । स्थानीयका अनुसार अरु विकास हैन, बाटोघाटो र सडक चाहिएको छ । सबैभन्दा मुख्य माग तिङ्करलाई व्यापारिक ‘ट्रान्जिट प्वाइन्ट’ बनाउनुपर्ने माग उनीहरूको छ । व्यासका पूर्वक्षेत्रपालसमेत रहनुभएका दानसिंह तिङ्करी भन्नुहुन्छ, “हामीहरूको माग तिङ्कर नाकालाई व्यापारिक नाकाका रूपमा अघि बढाउनुपर्छ भन्ने हो तर दुवै पार्टी र अध्यक्षहरूको एजेण्डा तिङ्कर नाकालाई व्यापारिक नाका बनाउँछु भनेर भनिएको छैन ।” कोरोनाको लहर आएसँगै उक्त नाका बन्द भएको छ । नाका सञ्चालन गर्नेदेखि व्यासमा अध्यागमन कार्यालय राख्ने, तिङ्कर नाकालाई व्यापारिक नाकाका रूपमा विकास गर्ने दलहरूको प्रतिबद्धता छैन । वर्षौंदेखि दलका नेताहरू उही सडक र बाटोका एजेण्डा लिएर भोट माग्न आउने गरेको स्थानीयको गुनासो छ ।–रासस उद्योग व्यवसाय गर्ने वातावरण बनाउने नेतृत्व स्थानीय तहमा आउनुपर्ने राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवालिम्बूले देशमा शान्ति र स्थायित्व कायम भए मात्र उद्योग व्यवसाय गर्ने वातावरण बन्ने बताएका छन् । महासङ्घको स्थापना दिवसका अवसरमा शनिबार आयोजना गरिएको कार्यक्रममा उहाँले मुलुकको शान्ति र स्थायित्वका लागि स्थानीय तहदेखि नै वातावरण बनाउनुपर्ने बताएका हुन् । यही वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने नेतृत्वले उद्योग व्यवसायका लागि स्थानीय तहबाटैे उचित वातावरण बनाउन सक्ने कार्यसूची भएको पार्टीलाई मतदान गर्नुपर्ने उनको भनाइ थियो । तत्कालीन नेकपा (एमाले) को नेतृत्वको सरकारका पालामा तराईमा सशस्त्र द्वन्द्व गरिरहेको सिके राउतको समूह, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलगायतलाई राजनीतिक धारमा आएर मुलुकमा शान्ति स्थापना भएको र मुलुकको दिगो शान्तिका लागि आगामी दिनमा पनि वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । महासङ्घका उपाध्यक्ष बालकृष्ण सिवाकोटीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा स्थानीय तहदेखि नै दिगो विकास र व्यवसायका लागि काम गर्ने नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । महासङ्घको सात वटै प्रदेश, ७७ जिल्ला, सबै पालिका र १० वस्तुगत सङ्घमा सञ्जाल रहेको जनाइएको छ ।–रासस