सोसल मिडिया
Contact Us
युनिकोड
देउखुरी, २५ वैशाख । स्थानीय तह निर्वाचनमा मतदान प्रक्रिया सहज बनाउन र बदर मत काम गर्नका लागि लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले आज बङ्गलाचुली गाउँपालिका–५ लोहारपानीमा नमूना मतदान गरेको छ । साङ्केतिक चुनाव चिह्न राखेर बङ्गलाचुलीको वडा नं ५ का मतदातालाई नमूना मतदान गराइएको थियो । बाउन्न पुरुष र १२ महिला गरी ६४ जना मतदानमा सहभागी रहेको कार्यालयले जानकारी दिएको छ । आंशिक मत बदर भएको, सदस्यलाई मतदान गर्दा पाँचवटा मत बदर भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । नमूना मतदानमा महिला, पुरुष, अशक्त र ज्येष्ठ नागरिकको लाइनलाई व्यवस्थित गर्न सिकाइएको थियो । नमूना मतदानमा मत बदर नहुने गरी मतपत्र पट्याउन, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारी, शाखा अधिकृत रेवतबहादुर बुढाथोकी, सूचना अधिकारी गेहेन्द्र कँुवर, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । विसं २०७४ को स्थानीय तहको निर्वाचनभन्दा अहिले मतदाता सचेत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
‘स्थानीय तहको निर्वाचन महत्वपूर्ण छ’
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुने भएको बताएका छन् । एमाले चितवन प्रचार विभागले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय निर्वाचनको महत्वलाई बुझ्दै चनाखो भएर लाग्न जरुरी रहेको बताए । उनले भने, “यो निर्वाचनको महत्व छ । यसमा निर्वाचन जित्नका लागि षडयन्त्र हुन सक्छ । चनाखो भएर लाग्न जरुरी रहेको छ ।” अहिलेको निर्वाचन पूँजीवादी दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बीचमा भएको भन्दै उहाँले अग्रगामी शक्तिको जीत सुनिश्चित रहेको बताए । पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले एमालेबाट लोकतन्त्र, सुशासन र समृद्धि जनताले प्रत्याभूत गरेको बताउँदै उनले भने, “एमालेले बहुमतले विजयी प्राप्त गर्दा समृद्धि, सुशासन र लोकतन्त्रको रक्षा हुन्छ ।” भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिका साथ एमाले निर्वाचनमा लागेको बताउँदै उनले समाजवादको आधार निर्माण गर्न नेकपा एमालेको जीत हुन आवश्यक रहेको बताए ।–रासस