सोसल मिडिया
Contact Us
युनिकोड
दाङ, २५ वैशाख । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । “स्थानीय तहहरूले मृत्यु भएकाहरूको नाम पठाएनन्”, उनले भने, “त्यसैले पनि मृत्यु भएकाको नाम पनि समावेश हुन सक्छ ।” दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको उनको भनाइ छ । यहाँका स्थानीय तहहरुले विसं २०७४ यता १८ वर्षमाथिका कति जनाको मृत्यु भयो भनी तथ्याङ्क तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ । “उपमहानगरपालिकामा मतदाता नामावलीमा नाम भएका कति जनाको मृत्यु भयो भनेर त्यस्तो तथ्याङ्क अहिले निकालेका छैनौँ, निर्वाचन आयोगलाई पनि पठाएका छैनौँ”, घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीम चौधरीले भने । निर्वाचन आयोगमा दाबी–विरोध परेकाको तथ्याङ्क मात्रै पठाएको तर मृत्यु भएकाको नपठाएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले बताए । मृत्यु भएकाको यसरी नामावली कटाउने प्रणाली भए सजिलो हुने उहाँको भनाइ छ । जिल्लामा कूल चार लाख नौ हजार ९०० मतदाता रहेका छन् । विसं २०७४ मा भएको निर्वाचनमा जिल्लामा तीन लाख ७७ हजार पाँच मतदाता रहेको थियो ।
मतदान केन्द्रमा मतदान अधिकृत खटाउने तयारी
आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्य क्षेत्रमा खटाउने तयारी गरेको छ । उनीहरुलाई तालिम दिएर सम्बन्धित मतदान केन्द्रमा खटाउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १३६ मतदानस्थलका २९७ मतदान केन्द्रमा मतदान र सहायक मतदान अधिकृत खटाइँदैछ । निर्वाचनमा खटिने २९७ मतदान र २९७ सहायक मतदान अधिकृतलाई शुक्रबार र शनिबार तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक र कार्यालय सहयोगीको नामावली शनिबार नै प्रकाशित गरेको छ । ती कर्मचारीलाई नियुक्तिपत्र, मतपत्र र आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गरी मतदान केन्द्रमा पठाइने उनले बताए । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले आचारसंहितामा बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै भने, “निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्षरूपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ ।” प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे । “मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुद बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिदैन”, उनले भने, “ढुक्क भएर निष्पक्षरूपमा जिम्मेवारी वहन गर्नेतर्फ ध्यान दिनुहोला ।” मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ अर्यालले बताए। प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले हरेक मतदान केन्द्रमा प्रहरी परिचालित हुने भएकाले ढुक्क हुन आग्रह गरे । निर्वाचनमा कुनै शङ्कास्पद गतिविधि भएको पाइए तत्कालै प्रहरीलाई खबर गर्न उनले अनुरोध गरे । “हरेक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको छ, सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ”, उनले भने । सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद अर्यालले शान्तिपूर्णरूपमा चुनाव सम्पन्न गराउन प्रहरी तत्पर रहेको बताए । तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा सिकाइएको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए । मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के–के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गरिनेछ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ । तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।–रासस