सोसल मिडिया
Contact Us
युनिकोड
महाेत्तरी, २५ वैशाख । बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन अधिकृत दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे ।तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेले टाँगेका बाक्लै ध्वजापताका तथा डिजे ब्याण्डसहितको समूहले सहर, गाउँमा असान्त बनाउदा पनि ध्यानाकर्षण नहुनुले निर्वाचन आयोगप्रति नै प्रश्न तेर्सिएको छ ।
उम्मेदवारले खुलेआम भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन् भने आचारसंहिताको न्यूनतम पालनासमेत गरेका छैनन् ।उम्मेदवारको प्रचारप्रसार गर्न जिल्लाका राजनीतिक दलका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारका समर्थक मुख्य चोकमा मात्र केन्द्रित भएका छैनन्, विद्यालयमा पनि केन्द्रित भएकाे देखिन्छ ।
निर्वाचन आयोगले व्यानर राख्न समेत मापदण्ड बनाएको छ । तर, ब्यानरको न साइजमा ध्यान दिएको छ नत मापदण्डमा नै । खुलेआम सहर, टोल र बस्तीमा पार्टीका कार्यकर्ताले मापदण्डलाई किन खिल्ली उडाइरहेका छन् भन्ने विषय निर्वाचन आयोगका लागि नै पेचिलो बन्दै गएको छ ।
खरेलका अनुसार आचारसंहिता उल्लंघन गरिरहेका दललाई निगरानी भइरहेको छ । 'झण्डा तथा प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाइसकेका छौँ, फेरि दोहोर्याएमा कारबाही प्रक्रिया अगाडि बढाउछौँ,' उनले भने ।सुरक्षा संयन्त्र लगाएर प्रचार सामग्री बजारका चोकबाट हटाए पनि राजनीतिक दलले पुरानो प्रचारप्रसार प्रक्रियालाई निरन्तरता दिइरहेका छन् ।
निर्वाचन आयोगले २५ चैतदेखि आचारसंहिता लागूगरेपछि पहिलेको तुलनामा बढी गाडी पास लिन आउने गरेको जलेश्वर भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदी बताउँछन् । २५ चैतदेखि २२ वैशाखसम्म मात्र ८ हजार माेटरसाइकल र गाडीले पास लिएको भन्सार कार्यालयको तथ्यांक छ । अहिले पनि दैनिक १० भन्दा बढी भारतीय नम्बर प्लेटका गाडी आउने गरेको उनकाे भनाइ छ ।आयाेगले आचारसंहिता बनाउने तर, कारबाही गर्ने हिम्मत नगर्दा समस्या बनिरहेको बर्दिबासका स्थानीय भास्कर दाहालले बताए ।