सोसल मिडिया
Contact Us
युनिकोड
दार्चुला, २५ वैशाख । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी पठाइने भएको छ । छाङ्गरु र तिङ्करमा सुरक्षाकर्मी लैजान सोमबार हेलिकप्टर आउन लागेको हो । नेपालतिर घोरेटोबाटो नहुँदा छाङ्गरु र तिङ्करमा सुरक्षाकर्मी हेलिकप्टरमार्फत पठाउन लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । हेलिकप्टरमार्फत तिङ्करका लागि प्रहरी पठाइने छ । तिङ्करबाट प्रहरी गत मङ्सिरमा हिमपातपछि सदरमुकाम खलङ्गा झरेको थियो । तिङ्करका स्थानीयवासी सदरमुकाम खलङ्गाबाट बसाइँ सरेर गाउँ फर्किसकेका छन् । हेलिकप्टरमार्फत छाङ्गरु र तिङ्करमा निर्वाचनको लागि खटिने कर्मचारी, मतपेटिका, मतपत्र तथा सुरक्षाकर्मीको खाद्यान्न ढुवानी गर्ने तयारी गरिएको छ ।
निर्वाचन सामाग्री बुझ्दै मतदान अधिकृत खटिए नौ वटा स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सामाग्रीसहित मतदान अधिकृत र कर्मचारी खटिन थालेका छन् । टाढाका मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र कर्मचारीले निर्वाचन सामग्री बुझेर खटिएका हुन् । आइतबारदेखि मतदान अधिकृतले निर्वाचन सामग्री आफ्नो जिम्मेवारीमा लिएर गएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो । टाढाका स्थानीय तहका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई पहिलो प्राथमिकतामा राखेर निर्वाचन सामग्री बुझाइएको धामीले बताए । जिल्लामा ११० मतदानस्थल र १३९ मतदान केन्द्र छन् । निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतका लागि दुई दिन अभिमुखीकरण कार्यक्रम गरेर उनीहरु आफ्नो मतदान केन्द्रमा खटिन थालेको धामीको भनाइ छ । जिल्लाका लागि कुल ९९ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँको कूल मतदाता सङ्ख्या ८८ हजार २८५ रहेको छ । मतपत्र कुनै कारण तलमाथि हुन गएको खण्डमा भनी कुल मतदाताको पाँचदेखि १० प्रतिशत मत बढी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश विष्टले जानकारी दिए। आयोगको नीतिअनुसार नै मतदाताको सङ्ख्याभन्दा केही बढी मतपत्र जिल्ला आएको हो । वैशाख २७ गतेसम्म सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपत्र दिएर पठाइसक्ने विष्टले बताउनुभयो । मतपत्रको ढुवानी नेपाली सेनाले गर्नेछ ।
निर्वाचन अवधिभर मदिरा बिक्री तथा सेवनमा रोक
दार्चुलामा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्रीवितरण तथा सेवन गर्न रोक लगाइएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यही वैशाख २५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम मत परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ । उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानूनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ६ ९थ० बमोजिम पूर्ण निषेध गरिएको जनाएको छ ।–रासस