सोसल मिडिया
Contact Us
युनिकोड
चितवन, २६ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गरेका छन् । नेकपा (एमाले) चितवनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताए । प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उनले भने, “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।” सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उनले विकासमा पहुँच पुग्ने बताए । भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उनले यो काम सुवेदीबाट सम्भव भएको बताए । गठबन्धन लामो समय नटिक्ने भन्दै उनले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गरे । उनले भने, “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस् ।” उनले थपे, “निर्वाचनपछि एमालेको सरकार बन्छ ।” एमालेले सरकारमा खुट्टा टेक्यो कि विकासको गति पाँचौँ गियरमा कुद्ने भन्दै उनले विभिन्न समस्या झेलेर पनि काम गरेको बताए । उनले भने, “एमाले सरकारमा ग¥यो कि नाकाबन्दीको सामना, गर्छ, उत्तरतिरबाट पारवाहको बाटो खुल्छ, विकासका गति अघि बढ्छन् ।” निर्वाचन देश बनाउने सवाल भएको भन्दै उनले एमालेले राष्ट्रिय अभियानको अगुवाई गरिरहेको दाबी गरे । निर्वाचन आयोगले पार्टीका झण्डाका विषयमा जारी गरेको आदेशप्रति संकेत गर्दै उनले भने, “निर्वाचन आयोगले कसलाई जारी गरेको आदेश ? पाँच दलका नेताहरू सँगसँगै हिँडेर एकले अर्काका लागि भोट मागिरहेका छन् । एकले अर्काे झण्डा र उम्मेदवार बोकेको छ । अर्कैको प्रचार गरेकोछ ।” सभामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले समृद्ध नेपाल र समाजवादको बाटोमा जाने पार्टी एमाले भएको बताए । उनले भने, “नेपालमा समाजवादको आधार सिर्जना गर्ने हो, पूर्णरूपमा विदेशी हस्तक्षेप रोक्ने काम एमालेले गर्छ ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रवादीहरूको एकता चितवनको माडी र भरतपुरबाट सुरु भएको बताए । उनले भने, “नेपालका सुन्दर महानगरपालिका र नगरपालिका बनाउने उद्देश्यका साथ हामी हिँडेका छौँ ।” सभामा एमाले नेता, काशिनाथ अधिकारी, नेतृ सीता पौडेल, देवी ज्ञवाली, जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, रामप्रसाद न्यौपाने लगायतले सम्बोधन गरेका थिए । सो अवसरमा भरतपुरमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले आफ्ना भावी योजनाका बारेमा बताएका थिए । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ ।
निर्वाचनमा खटिएका कर्मचारीलाई निष्पक्ष ढङ्गले काम सम्पन्न गर्न अध्यक्ष ओलीको आग्रह
यता लुम्बिनीमा बोल्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गले सम्पन्न गर्न प्रहरी र कर्मचारीलाई आग्रह गरेका छन् । प्रहरी र प्रशासनका कर्मचारीले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने भूमिका निर्वाह गर्नुपर्ने उनले धारणा राखे । नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रमलाई केन्द्रित गरेर आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा मात्र देशको विकास र समृद्धि सम्भव भएको बताए । एमालेले सरकारको नेतृत्व गरेका समयमा देश र जनताको पक्षमा महत्वपूर्ण काम भएको उहाँको भनाइ थियो । एमाले नेतृत्वको सरकारले देशभरि थुप्रै महत्वपूर्ण विकास आयोजना सुरुवात गरेको अध्यक्ष ओलीले उल्लेख गरे । उनले भने, “कैयौँ वर्षदेखि नागरिकको जीवन लिएका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापित गरेको हो ।’’ उनले रुपन्देहीमा सडक, पुल, विमानस्थल, सामुदायिक विद्यालय, स्वास्थ्य चौकीलगायत पूर्वाधार निर्माणका काम एमालेको अगुवाईमा भएको दाबी गरे । एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमालेको नेतृत्वको सरकारले रुपन्देहीको विकासमा फड्को मारेको बताए । स्थायी कमिटी सदस्य घनश्याम भुसालले शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकासलगायत क्षेत्रमा जनतालाई निःशुल्क सेवा उपलब्ध गराउन एमालेको नेतृत्व अपरिहार्य रहेको बताए ।–रासस