सोसल मिडिया
Contact Us
युनिकोड
मोरङ, २६ वैशाख । निर्वाचनलाई मर्यादित र स्वतन्त्र र निष्पक्ष बनाउने उद्देश्यले मोरङका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि एकदिने प्रशिक्षण आजदेखि सुरु गरिएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरद्वारा आयोजित सो प्रशिक्षणमा मोरङका १७ पालिकामा एक हजार ६५७ मतदान अधिकृत र सहायक मतदान अधिकृतको सहभागिता छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शी बनाउन सबैले आआफ्नो क्षेत्रबाट कार्य गर्न निर्देशन दिए । उनले शान्ति सुरक्षामा समस्या भए तत्काल निराकरण गरिने विश्वास दिलाए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले निर्वाचनमा शान्ति सुरक्षाको अवस्था सबल छ भन्दै नागरिकले भयमुक्त भई मतदान गर्न आग्रह गरे । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मतदान केन्द्रका अधिकृतबाट कुनै पनि लापरबाही हुन नदिन, कार्यालय दिने तालिममा विशेष ध्यान दिन, मतपत्रको ठेली गन्तीमा घटबढ हुन नदिन र मत खसाल्न सहज वातावरण सिर्जन गर्नुपर्नेमा जोड दिए । तालिममा मोरङको उर्लावारी नगरपालिका, केराबारी गाउँपालिका, कानेपानी, मिक्लाजुङ्ग सुनवर्षी, लेटाङ, पथरी शनिश्चरे, बेलवारी, रतुवामाई, धनपालथान सुन्दरहरैच, रङ्गेली, ग्रामथान, जहदा, कटहरी, बुढीगङ्गा र विराटनगर महानगरपालिकामा खटिने अधिकृत र सहायक अधिकृतको पनि सहभागिता थियो ।
जुम्लामा ४९६ कर्मचारी निर्वाचनमा खटिए
स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४९६ कर्मचारी खटिएका छन् । दुई सय चार मतदान अधिकृतसहित सो सङ्ख्यामा कर्मचारी खटिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताए । उनले भने, “जिल्लाका ७९ मतदानस्थल र १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत खटिने कर्मचारीसमेत छनोट गरिएको छ । जसमा छ महिला निर्वाचन अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाँच सयभन्दामाथि मतदाता भएका मतदान केन्द्र पाँच र ५०० भन्दा मुनी मतदाता भएका केन्द्रमा चार कर्मचारी खटाएको छ । जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र ५०० भन्दा बढी मतदाता सङ्ख्या रहेको छ । सो सङ्ख्यामा १४ वटा केन्द्रमा मतदाता कम रहेको छ । सोही मापदण्डअनुसार जिल्लामा कर्मचारी परिचालन हुने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । प्रत्येक केन्द्रमा कर्मचारीसहित तीन स्वयंसेवक खटिने भएका छन् । अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान अधिकृतलाई तालिम
आसन्न स्थानीय तह निर्वाचनमा खटिने सुर्खेतका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिइएको छ । यहाँका २९१ केन्द्रमा खटिने ५८२ जना मतदान अधिकृत÷सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तरिका, कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको निर्माण, सुरक्षा व्यवस्थापन, निर्वाचन सामग्री, आचारसंहितालगायतका विषयमा तालिम दिइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तालिमसँगै मतदान अधिकृतलाई निर्वाचन सामग्री पनि जिम्मा लगाइएको बताए । “स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदान अधिकृतको महत्वपूर्ण भूमिका हुन्छ, मतदान केन्द्रमा पुगेर सरोकारवालासँग सहकार्य र समन्वय गरी कुशलतापूर्वक जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ”, उनले भने, “निर्वाचन आयोगको सफलता÷असफलता मतदान अधिकृतको भूमिकामा भरपर्ने हुँदा निष्पक्ष र संवेदनशील भएर जिम्मेवारी पूरा गर्न निर्देशित गरेका छौँ ।” तीन क्लस्टरमा विभाजन गरी दिइएको तालिममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद उपाध्याय, निर्वाचन अधिकृतहरूलगायतले प्रशिक्षण दिनुभएको थियो । मतदान अधिकृत, सहायक मतदान अधिकृतहरूसहित सुरक्षाकर्मीको टोली सोमबारदेखि तोकिएको मतदानस्थलतर्फ प्रस्थान गर्नेछन् । जिल्लाका नौ स्थानीय तहमा १३८ मतदानस्थल छन् । मतदाताको सङ्ख्या भने दुई लाख ३८ हजार ४५७ छ । यहाँ ५१३ पदका लागि दुई हजार ८४ जनाको उम्मेदवारी परेको छ ।–रासस