सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २६ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइएको छ । द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उनका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौं तपस्या गरी स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । स्वर्गबाट गङ्गा अवतरण गराउने क्रममा पृथ्वी भासिने डरले महादेवले आफ्नो जटामा थापेको पौराणिक मत रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । गङ्गा नदी सागरमा मिसिएपछि यसको नाम गङ्गासागर हुन्छ । राजा भगीरथले ठूलो प्रयत्न गरेर गङ्गालाई पृथ्वीमा अवतरण गराएकाले भागीरथी नामले पनि गङ्गालाई पुकारिन्छ । गङ्गा सप्तमीसँग सम्बन्धित नभए पनि यस दिनलाई बीचमा पारी वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म गरिने वाग्मती तीर्थ यात्रा यस वर्ष पनि स्थगित गरिएको पशुपतिनाथ आगमघरका पुजारी महेश भट्टले बताए । यस वर्ष आगमघरका मूल पुजारी मदन भट्ट बिरामी हुनुभएकाले वाग्मती तीर्थयात्रा स्थगित गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भट्टले मसानघाट साधनाको दीक्षा अन्यलाई दिन नभ्याउनुभएकाले यस वर्ष वाग्मती तीर्थयात्रा स्थगित गर्नुपरेको हो । विसं २०७७ र २०७८ मा समेत कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले तीर्थयात्रा स्थगित गरिएको थियो । विगत वर्षमा निषेधाज्ञाका कारण तीर्थयात्रा स्थगित गरिए पनि वाग्मतीको आराधना एवं पूजा गर्ने विधिलाई भने यथावत् रूपमा निरन्तरता दिइएको थियो । यस वर्ष पनि वाग्मतीलगायत नदीमा गरिने पूजा आराधना भने पूर्ववत् नै सञ्चालन गरिएको छ । वाग्मती जस्तै देशका विभिन्न स्थानमा रहेका नारायणी, गण्डकी, कोसी, कर्णाली, इन्द्रावती, सुनकोसीलगायत नदीमा पनि पूजा आराधना गरी गङ्गा सप्तमी पर्व मनाइएको छ । वैदिक सनातन धर्मावलम्बीले गङ्गालाई पवित्र तीर्थस्थलका रूपमा पू्जा आराधना गर्छन् । हरेक नदी, पोखरी, ताल, तलाउमा रहेको पानीलाई गङ्गाकै रूपमा मानी प्रत्येक दिन बिहान ‘गङ्गे च यमुने चैव गोदावरी सरस्वती’ मन्त्रले गङ्गा आदि नदीको प्रार्थनासहित स्नान गर्ने विधि छ ।
रवि सप्तमीमा सूर्यको विशेष आराधना
यसैगरी आइतबारका दिन सप्तमी तिथि परेकाले रवि सप्तमी पर्व पनि मनाइएको छ । यस दिन विशेषरूपमा भगवान् सूर्यको विशेष पूजा आराधना गरिन्छ । आइतबारको व्रत बस्नेले आज सूर्यको उपासना गरी एक दिन नून नखाने व्रत विधि छ । यसो गरेमा मनोकामना पूरा हुनाका साथै छालाका रोग नलाग्ने धार्मिक विश्वास छ ।–रासस