सोसल मिडिया
Contact Us
युनिकोड
दमौली, २७ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका २९ मतदान केन्द्रमा मतपत्रसहित सामग्री पुगेको छ । देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र भिमाद नगरपालिकाका २९ मतदान केन्द्रमा मतपत्रसहितका सामग्री पुगेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँका सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले भौगोलिक दूरीले टाढा रहेका मतदान केन्द्रमा मतपत्रका साथ सामग्रीसहित कर्मचारी पुगेको जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र अन्य ६१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयबाट उपलब्ध गराइएको छ । दश वटा पालिकाका २९७ मतदान केन्द्रमध्ये बाँकी मतदान केन्द्रमा भोलि सामग्री प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र बुझेर आएका कर्मचारीलाई सामग्री वितरण थालिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए । नियुक्तिपत्रलाई अनलाइन सफ्टवेयरमा प्रविष्ट गरेपछि आवश्यक सामग्री प्रदान गरिने उनले बताए । कार्यालयबाट ६१ प्रकारका सामग्री वितरण गरिएको छ । मतपेटिका, परिचयपत्र, लाहाछाप, स्ट्याम्पलगायतका सामग्री निर्वाचन कार्यालयबाट उपलब्ध गराइएको छ । निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा खटिने सबै कर्मचारी वैशाख २७ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्नेछ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायतका काम हुनेछन् । निर्वाचनमा खटिने एक हजार ४८५ मध्ये ८९१ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गरिनेछ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ । तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।
मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइयो
स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा आवश्यक सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा मङ्गलबार बेलुकीसम्म सामग्री पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले जानकारी दिए । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरूलाई हस्तान्तरण गरी सुरक्षित तवरबाट मतदान केन्द्रमा पठाउन थालिएको उहाँले बताउनुभयो । जिल्लाका दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीले मतदानका लागि मतपेटिका, परिचयपत्र र स्ट्याम्प लगायतका ६१ प्रकारका सामग्री प्रदान गर्दै केन्द्रमा पठाउन सुरु भएको शर्माले बताए । मनाङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई सामग्रीसहित जिम्मेवारी प्रदान गर्दै मतदान केन्द्रमा पठाउन थालिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता सङ्ख्याका आधारमा स्थानीय पालिकाका कर्मचारी, स्वयंसेवक गरी १४० जना खटाइएको शर्माले बताए । उनका अनुसार मुख्य निर्वाचन अधिृकतको कार्यालयबाट नियुक्तपत्र बुझेर आएका कर्मचारीलाई सामग्रीसहित मतदान केन्द्रमा पठाइएको छ । यस्तै जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तवरबाट मतदान लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको र मतदानस्थलमा सोमबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । भयरहित तवरबाट मतदान गराउने प्रबन्ध मिलाइएकाले निर्धक्क साथ मतदानमा सहभागी भएर मतदान गर्न आचार्यले आग्रह गरे । निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ । म्यादी प्रहरी, सैनिक र सशस्त्र प्रहरी बलको सहयोगमा प्रहरीले निर्वाचनलाई सुरक्षित बनाउनेछ । मतदान केन्द्रमा म्यादीसहितको प्रहरी परिचालन गरिएको छ भने बाहिरी घेरामा सशस्त्र प्रहरी खटाइनेछ । मतदानस्थल नजिकै सेना परिचालन गरिने उनले बताए । मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मीको व्यवस्थापन गरिएको छ । मनाङका चार पालिकामा ६ हजार ४९६ मतदाताले २८ मतदान केन्द्रमा मतदान गर्नेछन् ।
भक्तपुरका मतदानस्थलमा पन्ध्र सय सुरक्षाकर्मी परिचान
स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय तह रणनीतिक सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचानल गर्ने भएको छ । जिल्लाका चार नगरपालिकाको सबै मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी ५१५, म्यादी प्रहरी ७७०, सशस्त्र प्रहरी २०३ जना गरी एक हजार ४९३ सुरक्षाकर्मी परिचानलन गरेको भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । सुरक्षाका लागि आवश्यकताअनुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन गर्ने जानकरी दिए । भक्तपुरमा कूल ७७ मतदानस्थल र २१९ वटा मतदान केन्द्र छन् । भक्तपुर नपामा १६ मतदानस्थल ६२ मतदान केन्द्र, चाँगुनारायण नपामा २१ मतदानस्थल ५३ मतदान केन्द्र, सूर्यबिनायक पामा २३ मतदानस्थल ५८ मतदान केन्द्र र मध्यपुरथिमि नपामा १७ मतदानस्थल ४६ मतदान केन्द्र निर्धारण गरेको छ । जिल्लाका चार नपाहरूमा भक्तपुर नपामा २७ हजार ६५६ पुरुष २९ हजार ६१४ महिला गरी कूल ५७ हजार २७०, चाँगुनारायण नपामा २१ हजार ०९८ पुरुष र २२ हजार सात महिला गरी कूल ४३ हजार १०५, सूर्यबिनायक नपामा २२ हजार ९८० पुरुष, २४ हजार ३८५ महिला र दुईजना तेस्रो लिङ्गी गरी कूल ४७ हजार ३६७, मध्यपुरथिमि नपामा २० हजार ५३१ पुरुष र २१ हजार ३०८ महिला गरी ४१ हजार ८४२ जना मतदाता रहेका छन् ।
निर्वाचन स्वच्छता एवं प्रणाली सुधारमा दल र नेताको असहयोग : पूर्वसभामुख
पूर्वसभामुख दमननाथ ढुङ्गानाले निर्वाचनमा स्वच्छता कायम गरी प्रणाली सुधार्न राजनीतिक दल र नेताकै सहयोग नहुने गरेको बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले यहाँ आयोजना गरेको ‘निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा उनले निर्वाचन आचारसंहिताको बुँदा २०० पु¥याएरै सुधार भयो भन्ने सोच्नु उपयुक्त नहुने बताए । स्थानअनुसार फरक आचारसंहिता बनाउनुपर्नेमा पूर्वसभामुख ढुङ्गानाको जोड थियो । “निर्वाचनको स्वच्छतामा दलले ध्यान नदिँदा जनताले इच्छाएअनुसारका प्रतिनिधि निर्वाचित हुनसक्ने अवस्था छैन, बिचौलियाले चाहेबमोजिमका जनप्रतिनिधि निर्वाचित हुने अवस्था बनेको छ, यसैले निर्वाचनको स्तरीयता कसरी सुधार गर्ने भन्ने विषय चुनौती बनेको छ”, उनले भने । पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचारसंहितामा धेरै कुरा राखेकाले अहिले त्यसलाई आयोगले नै थेग्न नसकेको बताए । आयोगले राज्य नै चलाउने जसरी आचारसंहितामा धेरै कुरा समेटेको उनको भनाइ थियो । “आचारसंहिताकै कारण भित्तेलेखन, पोष्टरिङ, पम्प्लेटिङ जस्ता भड्किलो प्रचारप्रसार शैली भने रोकिएको छ, यो विषय सकारात्मक छ, सामाजिक सञ्जालमा प्रचारप्रसारकै लागि हुने अस्वस्थ प्रतिस्पर्धा पनि अब रोकिनुपर्छ”, उनले भने । आयोगले आचारसंहिताका नाममा सबै कुरामा कस्न नहुने उल्लेख गर्दै उनले अत्यधिक खर्च र घुसपैठका रूपमा गरिने मतदान रोकेर अरु विषयलाई उत्सवका रूपमा मनाउन दिनुपर्नेमा पूर्वआयुक्त श्रेष्ठले जोड दिएका थिए । स्थानीय तहको निर्वाचनलाई स्थानीयस्तरबाटै गर्न नियोकजस्ता संस्थाले देशव्यापी बहस चलाउनुपर्ने उनको भनाइ थियो । अर्का पूर्वआयुक्त प्रा डा वीरेन्द्रप्रसाद मिश्रले निर्वाचन लोकतन्त्रको आत्माका साथै समाज, अर्थनीतिलगायत सबैसँग जोडिएकाले पनि निर्वाचनको स्वच्छता कायम गरिनुपर्नेमा जोड दिए । सात सय ५३ वटै स्थानीय तहका मतपत्र सात स्थानमा छाप्ने हो भने मतपत्रको आकार सानो बनाउन सहयोग मिल्ने उनको विचार थियो ।
नियोकले एक हजार ३०० पर्यवेक्षक खटाउने
यसैबीच स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न नियोकले सात प्रदेशका ७७ वटै जिल्लामा एक हजार ३०० पर्यवेक्षक खटाउने भएको छ । नियोकका अध्यक्ष प्रा कपिल श्रेष्ठले पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी भइरहेको बताए । निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन नियोकले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ को स्थापना गर्ने भएको छ । मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना सङ्कलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना सङ्कलक गरी ६० देखि ६५ जनाको संलग्नता रहने छ । कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पर्यवेक्षणबाट प्राप्त प्रतिवेदनले निर्वाचन प्रणाली सुधारको प्रमुख आधारका रूपमा काम गर्ने बताए । कार्यक्रममा नियोकका उपाध्यक्ष स्टेला तामाङ, महासचिव देविका तिमल्सिना, कोषाध्यक्ष तेज तिमल्सिना, प्रा कुसुम शाक्य, प्रा मेनका श्रेष्ठ, नियोकका कार्यकारी निर्देशक विकल श्रेष्ठलगायतले निर्वाचनको स्वच्छता कायम गर्दै विश्वसनीयता बढाउन गरिनुपर्ने सुधारका विषयमा सुझाव दिए ।–रासस