तिङ्कर प्रहरी छायालेक पुग्यो

मंगलबार, वैशाख २७, २०७९

दार्चुला, २७ वैशाख । गत मङ्सिरमा हिमपातपछि सदरमुकाम झरेको नेपाल प्रहरी सोमबार तिङ्करको छायालेक पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी छायालेक पुगेको हो । छ महिना मात्रै राज्यको उपस्थिति रहने तिङ्करको छायालेकमा सई हर्क महताको नेतृत्वमा सात जनाको टोली तिङ्कर चौकीमा पठाइएको जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
नेपाल प्रहरीले छ महिना चाहिने रासन, हातहतियार बन्दोबस्तीको समान लिएर गएको हो । ब्याँस गाउँपालिका–१ को तिङ्करमा ६ फुट बढी हिमपात हुने गरेका कारण प्रहरी र स्थानीय ६ महिना मात्रै यहाँ बसोबास गर्छन् । छायालेक प्रहरी चौकीबाट नेपाल चीन सीमास्तम्भ पुग्न ४ घण्टा समय लाग्छ । छाङगरुमा भने दुई वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्न थालेको छ ।
छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ । तिङ्करको छायालेकमा सशस्त्र प्रहरीको बिओपी राख्ने तयारीस्वरुप गत वर्ष भवन निर्माण गरिएको तर अहिलेसम्म सशस्त्र प्रहरी राख्नेबारे जानकारी आइनसकेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले बताए । उनका अनुसार निर्वाचनको बेला सशस्त्र प्रहरी पनि तिङ्करमा खटिन्छ । यो पटक निर्वाचनका लागि छाङ्गरु र तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिँदैछन् । म्यादी प्रहरी टाढा भएका कारण पठाइएको छैन ।

भारतसँग सीमा जोडिएका नाका बन्द हुँदै

दार्चुलामा भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्र मङ्गलबार रातिदेखि ‘सिल’ गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि सीमाबाट हुने आवागमन ७२ घण्टासम्म बन्द गर्न लागिएको हो ।  

मङ्गलबार बेलुकी ७ बजेदेखि मतदान हुने दिनको बेलुकी ७ बजेसम्म सीमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाको लालीदेखि ब्यासको सीतापुलसम्मका ६ वटा नाका भारतसँग सीमा जोडिएका नाकाहरू वैधानिक छन् । ती नाकाहरू बन्द गर्ने विषयमा शनिबार दुवै देशका अधिकारीबीच सहमति भएको थियो ।
लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल वैधानिक नाका हुन् । त्यो बाहेक दुई ठाउँमा नयाँ झोलुङ्गेपुल निर्माण भए पनि सञ्चालन गरिएको छैन भने केही ठाउँमा तुइनमार्फत आवतजावत हुँदै आएको छ । अवैध नाकामा सुरक्षाकर्मीले निगरानी बढाउने जनाइएको छ ।
मतदानअघिको मौन अवधिमा चुनावसँग जोडिएका कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहिता कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ । मतदान दिनका लागि सवारीसाधन सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा कडाइ गरिने प्रशासनले जनाएको छ । ‘स्थानीय तह सदस्य निर्वाचन–२०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९’ जारी गरिसकेको छ, जसमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट जारी पासबाहेकका गाडी वैशाख ३० का दिन गुडाउन नपाइने उल्लेख छ ।
मापदण्डअनुसार मतदान हुने दिन सवारी साधनका लागि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुनेछ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतबाट अनुमति लिएर प्रमुख जिल्ला अधिकारीमार्फत पास लिनुपर्नेछ । मानवीय सहायताका लागि प्रजिअबाट समन्वय गरेर सवारी आवागमन व्यवस्थापन गर्न सकिनेछ ।
जिल्लामा सुरक्षाकर्मी, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, राष्ट्रिय पर्यवेक्षक, सञ्चारमाध्यमले गाडीका लागि अनुमति पाउनेछन् । एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल÷विद्युत् सेवा तथा नम्बर प्लेटमा ‘सिडी’ लेखिएका सवारीसाधनले अनुमति लिनुपर्ने छैन । विदेशी नम्बर प्लेटका अरू सवारी साधन प्रयोग गर्न अनुमति दिइने छैन ।

सीमा नाका बन्द

भारतसँग सीमा जोडिएको सप्तरी जिल्लाको सम्पूर्ण सीमा नाकाहरू मङ्गलबारदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरण सम्पन्न गर्न मङ्गलबार राति १२ देखि शुक्रबार राति १२ बजेसम्म सीमाबाट हुने आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को परिच्छेद ६ (थ) वमोजिम मङ्गलबार राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा समेत रोक लगाइएको छ ।

स्थानीय तह निर्वाचनको मतदान कार्यका दिन शुक्रबार बिहान ५ देखि साँझ ६ बजेसम्म एम्बुलेन्स, वारुणयन्त्र, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाका सवारी साधन र अनुमति लिएका सवारी साधनबाहेक अन्य सम्पूर्ण यातायातका साधनहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए ।

मोरङका नाका बन्द गरिने
जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै यही वैशाख २७ गते राति १२ देखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ ।
यही वैशाख ३० गते सम्पत्र हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पत्र गर्न मोरङसँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

मदिरा निषेध
यसैगरी, सोही सन्दर्भमा जिल्लामा मादक पदार्थ बिक्री वितरण एवं सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई प्रभावित हुन नदिन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफाछ ६(थ), गृह मन्त्रालय निर्वाचन सेलको आदेशबमोजिम सो व्यवस्था गरिएको हो । यही वैशाख २७ गते राति १२ देखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङ जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लिखित क्रियाकलाप नगरी, गराई सहयोग गर्न हुन सबैलाई अनुरोध गरेको छ । यो आदेश बर्खिलाप भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।–रासस

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार