गोदावरीमा गजेन्द्रका प्राथमिकता 

‘एमबीबीएस र इन्जिनियरिङ पढ्नेलाई छात्रवृत्ति’ 
मंगलबार, वैशाख २७, २०७९

ललितपुर, २७ वैशाख । ललितपुरको गोदावरी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयर पदमा उम्मेदवारी  दिएका गजेन्द्र महर्जनले आफ्नो दोस्रो कार्यकालमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 
आफ्नो अघिल्लो कार्यकालमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउँदैं उनले शब्दपाटीसँगको विशेष कुराकानीमा भने, ‘अबको पाँच वर्षमा पालिकाभित्र शिक्षा र स्वास्थ्य क्षेत्रका नगरवासीले महसुश गर्ने गरी काम गर्ने संकल्प गरेको छु ।’ 
मेयर पदमा उम्मेदवारी दिएका निवर्तमान मेयर महर्जनले विश्व विद्यालय अनुदान आयोगबाट उपत्याकामै पहिलो गुणस्तर सुनिश्चिता प्रत्यायन (क्यूएए) प्राप्त जनभावना क्याम्पसलाई विश्वविद्यालय बनाउन संघीय र प्रदेश सरकारसँग समन्वय गरी प्रक्रिया अघि बढाउने पनि संकल्प गरेका छन् । 
उनले पालिकाभित्र स्थायी बसोबास गर्ने विद्यार्थीलाई एमबीबीएस र इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।  
अघिल्लो कार्यकालमा निर्माण सुरु भएको प्राविधिक कलेज निर्माण सम्पन्न गर्ने उनको संकल्प छ । नगरपालिकाभित्र सञ्चालित सरकारी क्याम्पसहरूलाई दिँदै आएको अनुदान अब नगरभित्रका १२ कक्षा सञ्चालन गरिरहेका विद्यालयहरूलाई पनि प्रदान गर्ने योजना उनको छ । 
अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाको प्रवन्ध गर्ने विषय कांग्रेसका तर्फबाट मेयर उम्मेदवार गजेन्द्रले आफ्नो संकल्प पत्रमा उल्लेख गरेका छन् । 
विद्यावारिधी गर्न चाहने नगरभित्र स्थायी बसोबास गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाउने तथा विद्यार्थीले एसईईमा प्राप्त गरेको ग्रेडको आधारमा शिक्षकलाई सम्मानसहित पुरस्कृत गर्ने तथा अब्बल सामुदायिक विद्यालयहरूको अनुभव र शिक्षण पद्धति अन्य सामुदायिक विद्यालयमा हस्तान्तरण गर्न कार्यक्रम सञ्चालन गर्ने विषय पनि गजेन्द्रले संकल्पत्र पत्रमा समेटेका छन् । उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयलाई पुरस्कृत गर्ने विषयलाई मेयर पदका उम्मेदवार गजेन्द्रले उठाएका छन् । 
स्नातक र स्नातकोत्तर गरेका शिक्षित बेरोजगार युवालाई सामुदायिक विद्यालयमा निश्चित पारिश्रमिकसहित स्वय्सेवक शिक्षकको रूपमा काम गर्ने व्यवस्था मिलाउने विषयलाई पनि उनको प्राथमिकता प्राप्त कार्यक्रम भित्र छ । 
यसै गरी स्वास्थ्य क्षेत्रमा  नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीमा चिकित्सकसहितको सामुदायिक वडा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने महत्वकाक्षी योजना उनले अघि सारेका छन् । 
बज्रबाराही चापागाउँ प्रदेश अस्पताललाई विशेषज्ञसहितको व्यवस्थित अस्पताल बनाउन सहयोग गर्ने तथा नगर अस्पताल निर्माण प्रक्रियालाई अघि बढाउने विषयलाई पनि काँग्रेसका उम्मेदवार गजेन्द्रले प्राथमिकता दिएका छन् । 
स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिने, दीर्घरोगीलाई उपलब्ध गराउँदै आएको निःशुल्क औषधिलाई निरन्तरता दिँदै उनले दीर्घरोगीलाई उपलब्ध गराउँदै आएकोे २५ हजार अनुदानलाई निरन्तरता दिइने पनि संकल्प पत्रमा अघि सारेका छन् ।
दुई सन्तानम्मका सुत्केरी आमालाई ५ हजार पोषण भत्ता उपलव्ध गराउन नीतिगत व्यवस्थासहित अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई बज्रबाराही अस्पतालमा स्वास्थ्य परीक्षणमा छुटको व्यवस्था मिलाउने विषय पनि गजेन्द्रले संकल्प पत्रमा समेटेका छन् । यस्तै नगरपालिकाका सबै वडामा क्रमशः एम्बुलेन्स व्यवस्था गर्ने विषय पनि उनको संकल्प पत्रको प्राथमिकतामा परेको महत्वपूर्ण विषय हो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
मंगलबार, वैशाख २७, २०७९