सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, २७ वैशाख । पाँच दलीय गठबन्धनका नेताहरुले स्थानीय तह निर्वाचन २०७९मा प्रतिगमनका मतियार केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पत्तासाफ हुने दाबी गरेका छन् । ललितपुर जिल्लामा गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित भएको बताउँदै उनीहरुले यो जित प्रतिगमनविरुद्धको जित हुने जिकिर गरे । पाँच दलीय गठनबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको चुनावी सभामा उनीहरुले त्यस्तो दाबी गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले केपी ओलीबाट लोकतन्त्र जोगाउन गठबन्धन आवश्यक भएको बताए । उनले भने, ‘ओलीजीले यो गठबन्धनलाई अपवित्र भन्नु भएको छ, उहाँहरूले गर्नुभएको सबैकाम पवित्र हुने हामीले गरेको अपवित्र हुने ?’ उनले स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेको अस्तित्व नाम निटान नरहने दाबी गरे । नेकपा (माओवादी केन्द्र) का नेता हितमान शाक्यले प्रतिगमनविरुद्ध गठबन्धन आवश्यक भएको बताए । उनले भने, ‘मेयर–उपमेयरमा जित सुनिश्चित भइसकेको छ, यो निर्वाचनले नेकपा एमाले बढारिन्छ ।’ उनले नेपाली कांग्रेसका तर्फका ललितपुर महानगरका मेयर पदका लागि उम्मेदवार बनेका चिरीबाबु महर्जनले गरेको कामको मुक्त कण्ठले प्रसंशा गरे । नेकपा (एकीकृत समाजवादी) का नेता उमेश शर्मा बजगाईले एमालेको प्रतिगमनले लोकतन्त्र धरापमा परेकाले गठबन्धन आवश्यक भएको बताए । उनले वडा तहसम्म गठबन्धन कायम राखेर एमालेको उपस्थिति शून्य बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अझै पनि समय छ, शीर्ष नेताहरू सहमति गरेर अघि बढ्नुस् जसले गर्दा एमाले बढारिन्छ ।’ कार्यक्रममा राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी, जनता समाज पार्टीका पुष्पराज कर्णिकारले चुनावी सभालाई सम्बोधान गरेका थिए । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले ललितपुरको ६ वटै पालिकामा गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । उनले भने, ‘ललितपुर महानगरको मेयर पदका उम्मेदवार चिरीबाबु स्वच्छ छवि छ, जे बोल्नु हुन्छ त्यो गर्नुहुन्छ, विकासप्रेमी नेता, ललितपुरलाई मात्रै होइन, नेपाललाई समेत अन्तराष्ट्रिय स्तरमा परिचित बनाउन धेरै काम गर्नुभएको छ ।’ चिरीबाबुले १५ हजार मत अन्तरले विजय हासिल गर्ने सभापति श्रेष्ठले बताए । कार्यक्रममा ललितपुर महानगरका मेयर र उपमेयरका प्रत्याशीले मन्तव्य राखेका थिए ।