सोसल मिडिया
Contact Us
युनिकोड
गण्डकी, २८ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्दै कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा योग्य उम्मेदवारको छनोटका लागि मतदानमा संलग्न हुन प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा आज आह्वान पत्र जारी गर्दै उहाँले ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेक पूर्णरूपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु’ भनेका छन् । स्थानीय तह जनताको नजिक रहेर उनीहरूका हेरक गतिविधिमा साथ दिने सरकार भएको उल्लेख गर्दै आह्वानपत्रमा मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनोट गर्न सकेमा मात्र आगामी पाँच वर्ष हामीले चाहेबमोजिमको सेवा प्राप्त गर्न सकिने भनेका छन् । लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । संविधान सभामार्फत २०७२ मा जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भएबमोजिमको तीन तहको सरकारमध्ये जनताको समीपमा रहेको स्थानीय तहको एक कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ मुलुक अहिले स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेको आह्वानपत्रमा उल्लेख छ । लामो र कठोर बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाउन आवधिक निर्वाचन अनिवार्य शर्त रहेको उल्लेख गर्दै आह्वानपत्रमा, ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तवरले सम्पन्न गर्ने, गराउने दायित्व सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यमसमेतको हो’, भनिएको छ । राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्था एवं सरोकारवाला सबै निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनका लागि मुख्यमन्त्रीले आह्वान गर्नुभएको छ । अधिकतम प्रदेशवासीको संलग्नतामा स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड अनपाउन पनि अनुरोध गरेका छन् ।
मतदान अधिकृतसहित सामग्रीसहित मतदानकेन्द्रमा
स्थानीय तह निर्वाचनका दाङका मतदानस्थलमा मतदान अधिकृत र कर्मचारी सामग्रीसहित पठाएको छ । सुरक्षाकर्मीका साथमा कर्मचारी, मतपेटिका, मतपत्र, स्वस्तिक चिह्न, मतदाता नामावलीलगायत आवश्यक सामग्री पठाइएको छ । मुख्य निर्वाचन कार्यालयमार्फत निर्वाचन अधिकृतले मतदानमा आवश्यक पर्ने स्वस्तिक छाप, नङमा लगाउने मसी, स्टायाम्प प्याड, छेकवबा, पोलबुक, लाह छाप, सुरक्षण सिल, मत पेटिका स्टिकर, मैनबत्ती मतदाता परिचयपत्र पठाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । अन्य सामग्रीमा कैची, रबर म्याट, स्टाप्लर, ग्लुस्टिक, पन्चिङ मेसिन, सेनिटाइजर, प्राथमिक उपचार बाकस, निर्वाचन निर्देशिका अनुसूची, स्टेसनरीका सामान पठाइएको छ । जिल्लामा लामो दूरीका स्थान बङ्गलाचुली, राप्ती, राजपुर, बबई र लमही नगरपालिकामा २६ गते पठाइएको थियो भने छोटो दूरी भएका स्थान गढवा, दङ्गीशरण, शान्तिनगर गाउँपालिका, तुलसीपुर, घोराही उपमहानगरपालिकामा आज पठाइएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।
छ हजार बढी जनशक्ति परिचालन
निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी छ हजार बढी जनशक्ति परिचालन गरिएको छ । तीन हजार ६८८ कर्मचारी र तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी गरी छ हजार ६८८ जनशक्ति निर्वाचनमा खटाइएको हो । निर्वाचन कार्यालयका अनुसार दाङमा ४६१ मतदान केन्द्र छन् । हरेक मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी खटिने छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, दुईजना सहयोगी र तीनजना स्वयंसेवक परिचालन हुने प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी तीन हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए । थप सुरक्षाकर्मीलाई समेत तयारी अवस्थामा राखिने र आवश्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको उनले बताए । यसैगरी नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अवस्थामा राख्ने बताइएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाएर निर्वाचनलाई गस्ती, सम्भावित अपराधका घटनाको विश्लेषण र नियन्त्रणका लागि टोल बस्तीमा प्रहरी परिचालन गरिएको प्रहरी कार्यालयले जनकारी दिएको छ । मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाइएको छ । आजसम्म सम्बन्धित मतदानस्थलमा सम्पूर्ण कर्मचारी पुग्ने कार्यक्रम छ । भोलि र पर्सी मतदाता परिचयपत्र वितरण गर्ने र सोही बेला मतदाता शिक्षा पनि चलाइनेछ । त्यसैगरी सोही दिन नै मतदानका लागि केन्द्र निर्माणका काम गरिनेछ । जिल्लामा १५३ मतदानस्थल र ४६१ मतदान केन्द्र तोकिएको छ । जिल्लामा दुई लाख नौ हजार ९९ महिला, दुई लाख सात हजार ९९ जना पुरुष र दुईजना तेस्रोलिङ्गी गरी चार लाख नौ हजार ९०२ जना मतदाता रहेका छन् ।
निर्वाचनको व्यवस्थापकीय तयारी पूरा
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले शुक्रबार हुने स्थानीय तह निर्वाचनको व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ । कार्यालयका अनुसार मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन लगायतका तयारी पुरा भएको छ । निर्वाचन आयोगले पठाएका सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्रतर्फ प्रस्थान गरिसकेका छन् । मतदान कार्यमा खटिएका कर्मचारीले तोकिएको मतदानस्थलमा पुगेर आयोगले तोकेको ढाँचा मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण, सर्वदलीय÷सर्वपक्षीय बैठक आव्हान, मतदाता सूचना एवं सहायता कक्ष स्थापना, मतदान केन्द्रको क्षेत्र निर्धारण गरी प्रचारप्रसारमा रोक लगाउनेलगायत कार्य थाल्नेछन् । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सदरमुकाम र नजिकका मतदान केन्द्रमा कर्मचारी पुगिसकेको जानकारी दिए । “कतिपय पालिकाका मतदान केन्द्रमा बुधबारसम्म मतदान कार्यमा खटाइएको टोली पुगिसक्छ”, उनले भने, “स्थानीय निर्वाचन निर्देशिकाबमोजिम मतदान अधिकृतले मतदानको तयारीका कार्यको नेतृत्व गर्नेछन् । सुर्खेतमा नौ स्थानीय तहका १३८ स्थलमा २९१ मतदान केन्द्र छन् । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रको सुरक्षा प्रबन्ध मजबुत बनाइएको बताउनुभयो । “मतदाता र मतदान केन्द्रको सुरक्षाको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरिसकेका छौँ”, प्रजिअ रिजालले भने, “केही स्थानमा प्रचारप्रसारका क्रममा दलका कार्यकर्ताबीच छिटफुट झडप भए पनि समग्रमा शान्ति सुरक्षाको अवस्था सामान्य छ ।” प्रशासनका अनुसार सुरक्षाको दृष्टिले सुर्खेतमा २० मतदान केन्द्र अतिसंवेदनशील छन् । सुर्खेत प्रदेश राजधानी भएकाले यहाँको सीमा सुुरक्षामा पनि सजगता अपनाएको बताइएको छ । सप्तरीमा पनि निर्वाचनको अन्तिम तयारी स्थानीय तहको निर्वाचनको तयारी सप्तरीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रमुख न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । “कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ”, उनले भने, “मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गर्न लागिएको छ ।” मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीलाई नियुक्तिपत्र दिई मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित खटाउन लागिएको हो । सप्तरीका सबै १८ पालिकाका २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाइएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २९७ मतदानस्थल निर्धारण गरिएकोमा २०८ वटा अतिसंवेदनशील, ८५ संवेदनशील र चार वटा मतदानस्थल सामान्यमा राखिएको छ । निर्वाचनको मौनअवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । निर्वाचनको थोरै दिन बाँकी रहँदा प्रत्याशी मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । देशभर एकैसाथ गर्न लागिएको निर्वाचन मितिको मौनअवधि रातिदेखि सुरु भएकाले जिल्लामा क्रियाशील राजनीतिक दलका उम्मेदवारले मंगलबार शक्ति प्रदर्शन गरेका छन् । मुख्य दलहरूले स्थानीय तहमा आफूहरूको जीत सुनिश्चित रहेको र ठूलो पार्टी हुने दाबी गर्दै आएका छन् भने पहिलोपटक भाग लिएर सबै स्थानीय तहमा उम्मेदवार बनाएको जनमत पार्टीले समेत तीन÷चार तहमा आफूहरूको जित हुने दाबी गर्दै आएका छन् । निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै ७०० नेपाली सेना, ६०० सशस्त्र प्रहरी र एक हजार ५९४ नेपाल प्रहरी तथा दुई हजार ९४८ म्यादी प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । सुरक्षा संयन्त्रको पहुँच, विगतमा भएका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरी शान्ति–सुरक्षाको व्यवस्था मिलाइएको गौतमले जानकारी दिए । उनका अनुसार आसन्न स्थानीय तहको निर्वाचनलाई धाँधलीरहित तथा मर्यादित बनाउन निर्वाचनमा भाग लिएका जिल्लास्थित सबै राजनीतिक दलले प्रतिबद्धतासमेत जनाएका छन् । मतदानस्थल तथा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारीलाई आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी रमेश जोशीले जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिएर तोकिएको कार्य क्षेत्रमा पठाइएको छ । उनले भने, “वैशाख ३० गते हुने निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरेका छौँ ।” निर्वाचन सफल पार्न जिल्लास्थित क्रियाशील राजनीतिक दललाई अमर्यादित गतिविधि नगर्न अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताए । जिल्लामा सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र र जसपाले सुरुङ्गा नगरपालिकामा र माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले खडक नगरपालिकामा चुनावी तालमेल गरेका छन् । अन्य सत्तासिन नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), लोसपा र जनमत एक्लै चुनावी मैदानमा उत्रिएको छ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा चार लाख १२ हजार ४४५ ले मतदान गर्न पाउने भएका छन् । महिला एक लाख ९८ हजार ५३२, पुरुष दुई लाख १३ हजार ८९२ र २१ अन्य मतदाताले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सप्तरीका अधिकारी जोशीले बताए । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस, सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले पाँच÷पाँच, एमालेले दुई र नयाँ शक्ति पार्टीले एक स्थानीय तहमा विजयी हासिल गरेको थियो ।–रासस