सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २८ वैशाख । निर्वाचन आयोगले मतदान केन्द्रको प्रवेशमा कडाइ गरेको छ । मतदान स्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री लैजान पाउने छैनन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजात पनि लैजान नपाउने उल्लेख छ । यस्तै विज्ञप्तिमा कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने पनि उल्लेख छ । शुक्रबार हुने हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेको व्यवस्था अनुसार निर्वाचन स्थल प्रवेश गर्न पाइने उल्लेख छ । मतदानको दिन मतदानकेन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति मात्रै मतदान स्थल प्रवेश गर्न पाउने छन् । महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नावालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था गरिएको पनि आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैनन् । निर्वाचन निर्देशिकाले व्यवस्था गरेको प्रावधान उल्लंघन भए कानून बमोजिम कारबाही गरिने उल्लेख गर्दै आयोगले मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग हार्दिक अपिल गरेको छ ।