निर्वाचनले गाउँमा चहलपहल बढ्यो

बिहीबार, वैशाख २९, २०७९

रामपुर (पाल्पा), २९ वैशाख । भोलि शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गाउँ फर्कने मतदाताको चहलपहल छ । दशैँमा जस्तै गाउँ फर्किनेको भीड देखिएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न क्षेत्रमा काम विशेषले बाहिर रहेका मतदाता निर्वाचनलाई लक्ष्य गर्दै गाउँ फर्केका हुन् ।
स्थानीय सरकारमा सक्षम, योग्य र विकासप्रेमी नेतृत्व चयन गर्नका लागि गाउँ फर्किनेहरूमा उत्साह जागेको छ । स्थानीय सरकार जनताको नजिकको  भएका र नागरिकले आफ्ना गुनासा सिधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हुँदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गर्न गाउँ आएको बताउँछन्, रामपुरका त्रिविक्रम थापा । उनी मतदानकै लागि एक हप्ताअघि काठमाडौँबाट गाउँ आएका हुन् । 
थापा भन्छन्, “सक्षम, योग्य र आफूले रोजेको प्रतिनिधि चुन्ने अधिकार नागरिकलाई छ, हाम्रालाई होइन असल  नेतृत्वलाई मतदान गर्नु नागरिकको कर्तव्य हो ।” अघिल्लो निर्वाचनमा कुनै राजनीतिक दललाई विकास गर्ने आशामा बसेका मतदाता यसपटक भने व्यक्ति हेरेर मतदान गर्ने पक्षमा छन् ।
काठमाडौं, बुटवल, नारायणगढ, पोखरा, पाल्पा सदरमुकाम तानसेन, भारतलगायत विभिन्न ठाउँबाट आउने सवारी साधनमा यात्रुको चाप बढेको छ ।  निर्वाचनले गर्दा कतिपय सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढेपछि निजी गाडी रिजर्भ गरेर पनि गाउँ भित्रिनेहरू  छन् । गाउँमा मतदान गर्न आउनेलाई राजनीतिक दलले आफू निकटका मतदातालाई काठमाडौँ, बुटवललगायत स्थानमा सवारीसाधनको व्यवस्थासमेत गर्दै आएका छन् । 
स्थानीयस्तरका जनप्रतिनिधि चुन्ने अवसर भएकाले पनि निर्वाचनका लागि उत्साहका साथ गाउँ फर्केको देखिन्छ । सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले पनि टाढा–टाढा भएका मतदाता घर फर्किएका हुन् । संविधानले नै असल नेतृत्व चयन गर्ने अधिकार दिएको छ । कसैको प्रलोभनमा नपरी विकासप्रेमी, सक्षम, योग्य उम्मेदवारलाई मतदान गर्न गाउँ आएको बताउँछन्, स्थानीयवासी विनोद ढकाल पनि । 
चुनावका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै केही दिनयता सदरमुकामसँग जोडिएका राजमार्गमा गाडीको चाप बढेको छ । छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले सङ्घीय र प्रदेशको निर्वाचनको तुलनामा स्थानीय तहको निर्वाचनमा बढी चासो दिएका हुन् । गाउँघरको विकासका लागि गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले मतदान गर्न मतदाता घर फर्किएका हुन् । बाहिरबाट गाउँ फर्केका मतदाताले गाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गर्न आएको बताएका छन् ।
दश स्थानीय तह रहेको पाल्पामा कूल एक लाख ९९ हजार ६९० मतदाता छन् । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि २४७ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित एक हजार ९७१ कर्मचारी, एक हजार ८० म्यादी प्रहरी, ७०४ नेपाल प्रहरी, २१८ सशस्त्र प्रहरी, ४१६ नेपाली सेना खटिएका छन् ।

बागुलङमा पनि बढ्यो निर्वाचनको रौनक

सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपराह्न साढे चार बजे मतदानस्थल पुग्यो । झण्डै ६० किलोमिटर टाढा रहेको बरेङ गाउँपालिका–४ स्थित सल्यान सुखौरा माध्यामिक विद्यालयस्थित मतदानस्थलमा पुग्दा सर्वसाधारण उनीहरूको स्वागतका लागि विद्यालयमै थिए ।
स्वागतपछि स्थानीयवासीले कर्मचारी र सुरक्षाकर्मीको समूहलाई आवश्यक बन्दोबस्त र खानपानको प्रबन्ध गरेका थिए । निर्वाचनको समय भएकाले सर्वसाधारणको खटनपटन र साथ सहयोगको कमै आशा राखेका कर्मचारी र सुरक्षाकर्मीले स्वागतयोग्य सहयोग पाएका थिए ।
“मतदानको दिनसम्म यहाँको वातावरण यस्तै रहनेछ, हामी आशा गरौँ नमूना मतदान केन्द्रको रुपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेर हामी फर्किने छौँ”, मतदान अधिकृत जिसीले भने, “मैले योसँगै चारवटा निर्वाचनमा अधिकृत भएर काम गरेको छु, यो स्थानीय तहको निर्वाचनमा जनताको उत्साह निकै राम्रो भेटेँ ।” उनले जस्तै जिल्लाभर खटिएका २३० मतदान अधिकृतले पनि सर्वसाधारणबाट यस्तै व्यवहार पाएका थिए ।
मङ्गलबार साँझ पुगेको मतदान अधिकृतको समूहले बुधबारदेखि धमाधम मतदानका लागि आवश्यक संरचना तयारीको काम गरिरहेको छ । बुधबार दिउँसो सर्वदलीय बैठक राखेर मतदान अधिकृत जिसीले शान्तिपूर्ण निर्वाचनका लागि सबैको साथ र सहयोगको अपेक्षा गरे । मतदानस्थलको सरसफाइ, व्यवस्थान होस् वा मतदान केन्द्रको तारबारको काममा मतदान अधिकृतहरूले साथ पाएको उनले बताए । 
जिल्लाभर रहेका १०३ मतदानस्थलका २३० मतदान केन्द्र धमाधम तयार भइरहेका थिए । मौन अवधि सुरु भएकाले दल तथा उम्मेदवारको मत माग्नेको चहलपहल घटे पनि मतदानस्थल तयार भएपछि भने निर्वाचनको रौनक थपिएको छ ।
“नयाँ मतदाताका लागि मतदाता परिचयपत्र वितरण भइरहेको छ, युवायुवती उत्साजकनक तरिकाले परिचयपत्र लिन आएका छन्”, बागलुङ बजारको बुद्धबिहार मतदान केन्द्रका मतदान अधिकृत ईश्वरीप्रसाद शर्माले भने, “मतदाता मत दिन उत्साहित छन् भन्ने बुझिन्छ ।”
निर्वाचनका बेला  जिल्लाका विभिन्न भागमा अवाञ्छनीय घटना भएका पहिलादेखिको उदाहरण छन् । विसं २०६४ मा भएको संविधानसभा निर्वाचन होस् अथवा २०७० को दोस्रो निर्वाचन । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा समेत अवान्छित  गतिविधि भएका थिए  तर यस वर्षको स्थानीय तहको निर्वाचनमा मतदानको समय एक दिनमात्रै बाँकी रहँदा शान्तिपूर्णरूपमा निर्वाचनको तयारी हुनुलाई सर्वसाधारणले सुखद् भनेका छन् ।
“यस जिल्लाले यो वर्ष नमुना निर्वाचन गरेर देखाउँछ, अहिलेसम्म अप्रिय केही भएको छैन र हुँदैन पनि”, मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले भने, “शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्न हामीले सबैलाई आग्रह गरेका छौँ ।” जिल्लाभर मतदानस्थल तोकिएका अधिकांश विद्यालय सिङ्गारिएका छन् । मतदानस्थलमा देखिएको उत्साहले निर्वाचनलाई थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।–रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बिहीबार, वैशाख २९, २०७९