स्थानीय निर्वाचनका कारण गाउँमा चहलपहल, सहर सुनसान

बिहीबार, वैशाख २९, २०७९

राँझा, २९ वैशाख । नेपालगञ्जमा होटल व्यवसाय गर्दै आएकी बैजनाथकी लक्ष्मी योगीलाई चुनावमा भाग लिन गाउँ जाने तर्खरमा छिन् ।  
बैजनाथ गाउँपालिका–२ निवासी उनी अरु बेला नेपालगञ्जमा होटल व्यवसाय गरे पनि भोट हाल्न गाउँ जाँदा रमाइलो हुने बताउँछिन् । बाँकेको नेपालगञ्ज र कोहलपुरमा पेशा तथा व्यवसाय गरेर बस्दै आएका अधिकांश सर्वसाधारण आ–आफ्नो गाउँमा फर्किसकेका छन् । आसन्न निर्वाचनमा मतदानको लागि आज साँझसम्म सबैजसो सर्वसाधारण आ–आफ्नो गाउँ फर्किसक्ने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिए ।
उनले नेपालगञ्जमा होटल व्यवसाय गर्दै आएका अधिकांश व्यवसायी आ–आफ्नो गाउँमा भोट हाल्न पुगेको जानकारी दिए। होटल व्यवसायी चुनावमा भोट हाल्न गाउँ गएका कारण नेपालगञ्जका धेरैजसो होटल बन्द भएका छन् । 
निर्वाचनले सहरमा भन्दा गाउँमा चहलपहल बढाएको छ । पेसा तथा व्यवसायमा व्यस्त हुँदै आएका सर्वसाधारणले निर्वाचनलाई गाउँ पुगेर घरपरिवारसँग भेटघाट गर्ने अवसरका रुपमा पनि लिएको उनको भनाइ छ ।
सहरमा पेशा तथा व्यवसाय गर्ने सर्वसाधारण निर्वाचनमा भाग लिन गाउँ फर्किएपछि यतिबेला सहरमा भन्दा गाउँमा चहलपहल बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताए। बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब छ हजार २०० परिचालन भएका छन् ।
निर्वाचनका लागि जिल्लाका आठवटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी दुई हजार २०० परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी दिए । 
उनका अनुसार निर्वाचनका लागि बाँकेमा चार हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल छन् । जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी यसैअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।–रासस
 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
ललितपुर महानगरको बजेट पारित
बिहीबार, वैशाख २९, २०७९