सोसल मिडिया
Contact Us
युनिकोड
उदयपुर, ३० वैशाख । आज बेलुकी निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलुकी मतदान सम्पन्न भएपछि कालिका मतदान केन्द्रमा मतपेटिकाहरु राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेर सिल गरेपछि दोहोरो विवाद भएको थियो । दोहोरो विवादका क्रममा झडप हुँदा प्रहरीले नियन्त्रण गर्न चार राउन्ड हवाई फायर गरेको र सो क्रममा कटारी–१० का स्थानीय १९ वर्षीय नवीन कटुवाललाई गोली लाग्दा कटुवालको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का स्थानीय १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार के कारणले दोहोरो झडप भएको हो र प्रहरीले हवाई फायर गर्नुपरेको भन्ने विषयमा अझै सूचना प्राप्त भइनसकेको बताए । अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेर शान्ति स्थापनाका लागि घटनास्थललाई घेरा हालेको छ । घाइतेलाई उपचारका लागि सेनाको हेलिकप्टरबाट अन्यत्र लाने तयारीसमेत भइरहेको प्रजिअ यादवले बताए । घटनाका बारेमा अझै सबै कुरा आइनसकेका कारण आफूहरुले पनि अनुसन्धान गरिरहेको प्रजिअ यादवले बताए। घटनास्थल कटारी बजारदेखि १० कोस उत्तर पश्चिमी पहाडी क्षेत्रमा रहेको पनि प्रजिअ यादवले बताए।–रासस