सोसल मिडिया
Contact Us
युनिकोड
दमौली, ३१ वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको हो । बन्दीपुर , म्याग्दे र घिरिङ गाउँपालिकामा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको छ भने भिमाद नगरपालिकामा आज बिहानदेखि मतगणना सुरु भएको छ । अन्य पालिकामा पनि मतगणना सुरु गर्ने तयारी छ । व्यास नगरपालिकामा भने मतगणनामा अन्यौल भएको छ । व्यास–८ रिस्ती मतदान केन्द्रमा विवाद भएपछि नेकपा (एमाले) र गोविन्दराज जोशी समूहले पुनःमतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ । जिल्लाका दशवटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । देवघाट गाउँपालिकाका १२ हजार ८१५ मध्ये आठ हजार ८६६ मत खसेको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए। म्याग्दे गाउँपालिकामा १८ हजार १०५ मतदातामध्ये ११ हजार ९४३ मत खसेको छ । घिरिङ गाउँपालिकामा १४ हजार ६७६ मतदातामध्ये आठ हजार ७१६ मत खसेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए । आँबुखैरेनी गाउँपालिकामा १३ हजार ६३१ मतदातामध्ये नौ हजार २७९ मत खसेको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । त्यस्तै बन्दीपुर गाउँपालिकामा १५ हजार ६३८ मतदातामध्ये १० हजार १९५ मत खसेको छ । ऋषिङ गाउँपालिकामा १८ हजार २३८ मध्ये १० हजार ६६२ मत खसेको छ । चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ जना निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ निर्वाचित हुनेछन् ।–रासस