सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २ जेठ । पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै गएको समेत यसले देखाउँछ । राजनीतिक दलले क्रमशः आफ्नो समितिभित्र युवा तथा विद्यार्थीलाई सक्रिय रूपमा सहभागी गराइरहेका छन् । यसै क्रममा दार्चुलाको अपी हिमाल गाउँपालिकाको अध्यक्षमा विजयी भगतसिंह ठेकरे बोहोरा निर्वाचित भएका छन् । सार्वजनिक भएको मत गणानामा बोहोरोले दुई हजार ३०४ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । बोहोरा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका थिए । क्रान्तिकारीका महासचिव दीपेश पुनका अनुसार सो सङ्गठनका विभिन्न नेताहरू स्थानीय तहको निर्वाचनमा विजयी भएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ को अध्यक्षमा सत्तारूढ गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार घनश्याम खरेल निर्वाचित भएका छन् । खरेल अखिल (क्रान्तिकारी)का लुीम्बनी प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए । सो गाउँपालिकामा सत्तारूढ गठबन्धनले वडा तहसम्म नै तालमेल गरेको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका खरेलले ५५२ मतसहित विजयी भएका हुन् । सो वडामा कूल ८०० मत खसेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोविन्दबहादुर बलालले १८५ मत मात्रै प्राप्त गरेका थिए । यस्तै सोही सङ्गठनका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका तारा भण्डारी धादिङको गजुरी–१ को अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म अखिल (क्रान्तिकारी)को केन्द्रीय नेतृत्वमा रहनुभएका भण्डारी पछिल्ला दिनमा भने गजुरीमा फर्केर पार्टी राजनीतिमा सक्रिय भएकी हुन । नेपालको संविधान जारी भएपछि भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भण्डारीले ६८८ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर बर्तौलाले ६२६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै माओवादी केन्द्रको विद्यार्थी सङ्गठन क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र रोकाया बझाङको मस्टा गाउँपालिका–१ वडाध्यक्षको उम्मेदवार छन् । सो गाउँपालिकाको मत गणना जारी छ । यस्तै, अन्य स्थानीय तहमा समेत युवा विद्यार्थीको सक्रिय सहभागिता छ । यस्तै, दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा विजयी छवि सुवेदी पनि पूर्वविद्यार्थी नै हुन् । सुवेदीले नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई ८०० मतान्तरले पराजित गरे । सुवेदीले तीन हजार २०० मत प्राप्त गरे । अध्यक्षमा विजयी हुनुभएका सुवेदी हाल माओवादी केन्द्र निकट बुद्धिजीवी सङ्गठनको कर्णाली प्रदेश अध्यक्षसमेत हुन् । एमबिबिएसको अन्तिम वर्षको तयारी चल्दै गर्दा माओवादी युद्धमा होमिएका सुवेदी निकै सादगी व्यक्तित्वका रूपमा परिचित छन् । विजयी भएपछि सुवेदीले छोटो प्रतिक्रिया दिँदै गाउँपालिकाभित्र स्रोत र साधनले भ्याएसम्म स्थानीयवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले आफूहरूलाई विजयी गराउने सबै मतदातालाई धन्यवादसमेत दिएका छन् ।
एमालेका २८ वर्षे इन्जिनियर बने गाउँपालिका अध्यक्ष नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् । उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । पूर्व सांसद दामोदर बस्ताकोटीका छोरा उनलाई कांग्रेस नेता शशाङ्क कोइरालाको रुचिमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोर्याइएको थियो । अध्यक्ष पदमा सुनारीले ४०५९ मत गरेका छन् भने बस्ताकोटीले ३९०० मत गरे । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना ४२३९ मत प्राप्त गर्दै विजयी भएकी छन् । एमालेको तर्फबाट पालिका उपाध्यक्ष पदको उम्मेदवार भूमिका खण्डलुक मगरले ३५१९ मत प्राप्त गरिन् । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेकानिकल इञ्जिनियरिङ्गमा स्नातकोत्तर गरेका छन् ।