सोसल मिडिया
Contact Us
युनिकोड
ढाका । बंगलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच सोमबार राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए । भेटवार्तापछि राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा राष्ट्रपति भण्डारी सहभागी भइन् ।
बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान प्रदान भएको थियो । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आएकी हुन् । राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् । यसअघि बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन् ।–रासस