दाङको राजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

सोमबार, जेठ २, २०७९

दाङ, २ जेठ । दाङको राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा शरद बुढाथोकीले तीन हजार ९८० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चक्रबहादुर खडकाले तीन हजार १६७ मत र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कुलराज गिरीले दुई हजार ९२२ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा  धनपति यादव तीन हजार ८३६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार पुष्पा यादवले तीन हजार ३४८, नेकपा एमालेका  सीता यादवले दुई हजार सात मत प्राप्त गरेका छन् । कूल १५ हजार ७२३ मतदाता रहेकामा ११ हजार ७४१ मत खसेको थियो ।

डोटीको बोगटान फुड्सिलमा माओवादी र कांग्रेस विजयी

डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिला दुई हजार ५८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हस्तबहादुर बुढाले दुई हजार २४ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका डिलबहादुर बमले एक हजार ९३४ मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्नादेवी बम विजयी भएका छन् । बमले दुई हजार ६३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेकी ज्ञानु मल्ल (बम) ले एक हजार ९९१ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी कलावतीकुमारी चिमालले एक हजार ८७१ मत प्राप्त गर्नुभएको छ ।

सल्यानको सिद्ध कुमाखमा नेपाली कांग्रेस विजयी

सल्यानको सिद्ध कुमाख गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भरत गिरी विजयी भएका छन् । उनले दुई हजार १७३ मत प्राप्त गरी विजयी भएका  हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का चित्रबहादुर चलाउनेले एक हजार ७९८ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का रामबहादुर बस्नेतले दुई हजार ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पूर्णिमा चलाउनेले एक हजार  ९६३ मत प्राप्त गरिन् ।
गाउँपालिकाका पाँचवटा वडामध्ये दुईवटा वडामा माओवादी केन्द्र र तीनवटा वडामा कांग्रेस विजयी भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये तीनवटा स्थानीय तहको नजिता घोषणा भइसकेको छ ।
हालसम्मको मत गणनाअनुसार दुई स्थानीय तहमा एमाले, दुई स्थानीय तहमा कांग्रेस, दुई स्थानीय तहमा माओवादी केन्द्र र एक स्थानीय तहमा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  २१:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार