आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

मंगलबार, जेठ ३, २०७९

दमौली, ३ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भकी छन् । 
अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी  कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गरिन् । 
छवटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ । माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको छ । कांग्रेसले वडा नं ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नं ६ मा विजय हासिल गरेको छ । 

भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी

भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो । नगरप्रमुखमा दधिराज सुवेदी आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे ।  उपप्रमुखमा एमालेकै शारदा खनाल सात हजार ६६७ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत प्राप्त गरे । 
कूल २४ हजार ८८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार १४९ मत खसेको थियो । भिमाद नगरपालिका–२, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ ।–रासस 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार