तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस

मंगलबार, जेठ ३, २०७९

काठमाडौँ, ३ जेठ ।  काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका हुन् । 
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गरेको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गरे । 
यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी  एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पोखरेलले बताए। यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गरेका छतन् । 
कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताइन् । 

गोकर्णेश्वरमा कांग्रेसको अग्रता
गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा (एमाले)लाई ३०० बढी मतले पछि पार्दै अघि लागेको हो । नगरपालिकाको वडा नं ३ सम्मको मतगणनामा एमाले अघि थियो । वडा नं ४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो ।
कांग्रेसका दीपक रिसालले छ हजार २६२ मत पाएका छन् । उनलाई पछ्याउँदै एमालेका उद्धव विष्टले पाँच हजार ८६२ मत पाएका छन् । उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी शान्ति नेपालले पाँच हजार ८५२ मत पाउनुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका सान्नानी लामाले पाँच हजार ८३६ मत पाएकी छन् । 

वडा नं ६ को अध्यक्षमा  सुवेदी विजयी

वडा नं ६ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नारायणबहादुर सुवेदी निर्वाचित भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन् । उनले एक हजार ७५५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार तारा पुडासैनीले ८१४ मत पाए । सुवेदी प्यानलसहित निर्वाचित भएका हुन् । 
नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१।३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगरप्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजय हासिल गरेको थियो । यसपटक भने कांग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३ मा हारेको छ । दुवै वडामा एमाले प्यानलसहित विजयी भएको छ । नगरपालिकाका नौवटा वडामध्ये चारवटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।
नगरपालिकाको वडा नं २ मा पनि एमाले प्यानलसहित विजयी भएको छ । वडा नंं ४ मा भने कांग्रेसका बागी उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भए । वडा सदस्यमा भने तीनवटा पदमा कांग्रेस र एउटा पदमा एमाले विजयी भएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार