सोसल मिडिया
Contact Us
युनिकोड
सिद्धार्थनगर । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको संख्यामा केही सातायता दिनानुदिन वृद्धि हँुदै गएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको सङ्ख्या नै अत्यधिक रहेको छ । कोषको तथ्याङ्कअनुसार बन्दाबन्दी खुलेपछि एक लाख ४१ हजार ५७९ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् । यसैगरी, पाँच हजार ७४८ भारतीय र १२० विदेशी नागरिकले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरूको सङ्ख्या बढिरहेको बताए । कोरोनाका कारण मान्छेहरूमा सृजना भएको निराशा र चिन्ता हटाउन लुम्बिनीको भ्रमण फलदायी हुने पनि शाक्यले बताए । सामान्य अवस्थामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या अत्यधिक रहने गरेकामा कोरोनाका कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमानाकामा सहज आवतजावतसमेत नरहेको हँुदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउन नसकेको पर्यटन पुनरोत्थान समिति लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले बताए । उनले भने, ‘लुम्बिनीको पर्यटन पुनरोत्थानका लागि हामीले नेपाल पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार र पर्यटन सम्बद्ध विभिन्न निकायसँग मिलेर विभिन्न अभियान चलाइरहेका छौँ । यसले लुम्बिनी घुम्न जान मान्छेहरूलाई उत्प्रेरित गर्नेछ ।’ गत फागुन तेस्रो हप्ता लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङसमेत गरिएको थियो । साथै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीको नेतृत्वमा पर्यटन क्षेत्रका विज्ञहरूको समूहले मायादेवी प्रसूति मार्गको स्थलगत अवलोकनसमेत गरेको थियो ।–रासस