चन्द्रागिरिमा गठबन्धनको अग्रता

मंगलबार, जेठ ३, २०७९

काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको १९ हजार ५०० मतमध्ये गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गिरिले आठ हजार ८३० मत ल्याई अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमबहादुर राउतले सात हजार १५० मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन् ।  यस्तै, उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका वसन्ती श्रेष्ठले आठ हजार १२८ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले दुई हजार ८९ मत प्राप्त गरेका छन् । 
हालसम्म चन्द्रागिरिका सातवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताइन्। अहिले चन्द्रागिरिमा वडा नं ८, ९ र १० को मतगणना भइरहेको छ । कूल मतगणना भएका मतमध्ये नगरप्रमुखमा एक हजार ९४९ र उपप्रमुखमा पाँच हजार ६१६ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताइन् । कूल ४७ हजार २६४ मतदाता रहेको चन्द्रागिरिमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार