पर्वतको फलेवासमा गठबन्धनका उम्मेदवार तिवारी र क्षेत्री विजयी

मंगलबार, जेठ ३, २०७९

पर्वत, ३ जेठ । पर्वतको फलेवास नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसका गङ्गाधार तिवारी नगरप्रमुख र माओवादी केन्द्रकी शोभा क्षेत्री क्रमशः प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । तिवारीले एक हजार ३६२ मतको अन्तरले एमाले उम्मेदवार पदमपाणि शर्मालाई पराजित गरेका हुन् । तिवारीले सात हजार ७०० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शर्माले छ हजार ३३८ मत प्राप्त गरे ।  
त्यसैगरी उपप्रमुखमा शोभाकुमारी क्षेत्रीले छ हजार ३२७ मत प्राप्त गरी विजयी भएका छन् भने उनकी प्रतिस्पर्धी एमालेकी मञ्जु अधिकारीले छ हजार ५७ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा २७० मतको अन्तर रहेको छ । 
फलेवासमा पुरानै अनुहार दोहोरिएका हुन् । अहिले पराजित बनेका पदमपाणि शर्मा र मञ्जु अधिकारी निवर्तमान नगर प्रमुख र उपप्रमुख हुन् । विसं २०७४ को स्थानीय निर्वाचनमा अहिले विजयी भएका तिवारी र क्षेत्री झिनो मतले पराजित भएका थिए । गठबन्धनका कारण अहिले उनीहरूले जितेका हुन् ।  फलेवास नगरपालिकाका ११ वटा वडा मध्ये वडा नं २, ५, ७,८ र ११ मा एमाले विजयी भएको छ भने वडा नं १, ३, ४, ६, ९ र १० मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार