कागेश्वरी मनोहरामा कांग्रेसका उपेन्द्र कार्की ८९६ मतान्तरले अघि

मंगलबार, जेठ ३, २०७९

काठमाडौँ, ३ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख पदमा  नेपाली कांग्रेसका उपेन्द्र कार्की ८९६ मतान्तरले अघि लागेका छन् ।  कार्कीले पाँच हजार ५६५ मत पाएका छन् । उनलाई पछ्याउँदै नेकपा (एमाले) का रामशरण ढुङ्गानाले चार हजार ६६९ मत ल्याएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन् । नगर प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का कृष्णहरि थापाले एक हजार ४६७ मत पाएको छ। थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित भएका थिए । एमाले फुटेपछि उनी समाजवादीमा लागेका हुन् । नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु फुयाँलले ४२४ मत पाएका छन् । 
यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले पाँच हजार ४७७ मतका साथ अग्रता कायम गरेकी छन् । उनलाई पछ्याउँदै नेकपा (माओवादी केन्द्र) का भोला चापागाईंले तीन हजार १०० मत पाएका छन् । समाजवादीका सरस्वती नेपालले ९०० मतका साथ पछ्याइरहेका छन् । नगर उपप्रमुख राप्रपाका उम्मेदवारले ७५० मत पाएका छन् । 
नगरपालिकाको वडा नं २, ८ र ९ मा कांग्रेसले जितेको छ । वडा नं १ मा एमालेले विजयी हासिल गरेको छ । हाल वडा नंं ३ र ७ को मतगणना भइरहेको निर्वाचन अधिकृत राउतले सुनाइन् । दुई वडाको मत परिणाम आउन बेलुकीसम्म लाग्ने नगर निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणनास्थल बढाउन मानेनन दलले

नगरपालिकामा दुई स्थानमा मात्र मतगणना भइरहेको छ । धेरै स्थानमा मतगणना गर्न कार्यालयले छलफल चलाए पनि दलका प्रतिनिधिले नमानेको निर्वाचन अधिकृत राउतले बताए। नगरपालिकामा अझै वडा नं ४, ५ र ६ को मतगणना सुरु भएको छैन ।
नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडा अध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा जितेको थियो ।रासस

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार