सोसल मिडिया
Contact Us
युनिकोड
बागलुङ, ३ जेठ । ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का देवकुमार नेपाली विजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई छ सय मतले पछि पार्दै नेपाली प्रमुखमा चुनिएका हुन् । नेपालीले पाँच हजार ७३५ मत ल्याउँदा अर्यालले जम्मा पाँच हजार १३५ मत प्राप्त गरे । त्यहाँको उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पाँच हजार ६५० मतसहित नेपाली कांग्रेसका धनबहादुर कायत विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चा (विद्रोही समूह) की ताराकुमारी पुनले चार हजार ८८४ मत प्राप्त गरिन् । ढोरपाटनमा एमालेले चार, कांग्रेसले एक, माओवादी केन्द्रले एक, राजमोले दुई र राजमो (विद्रोही समूह) ले एउटा वडा जितेको छ । यस्तै बरेङ गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी भएका छन् । गठबन्धनका उम्मेदवार शर्माले तीन हजार ६०१ मत प्राप्त गरी एमालेका प्रदीप थापालाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी थापाले दुई हजार २३२ मत ल्याएका हुन् । उपाध्यक्षमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका दिलीपकुमार पुन विजयी भएका छन् । पुनले तीन हजार ६८२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी एमालेका दुर्गा कार्की थापा क्षत्रीले एक हजार ९५५ मत प्राप्त गरेका छन् । निसीखोला गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्ती र उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्ती विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित घर्तीले पाँच हजार ५११ र उपाध्यक्षमा निर्वाचित प्रेम घर्तीले पाँच हजार मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी एमालेका भूमिराज घर्तीले दुई हजार ६३९ र उपाध्यक्षका उम्मेदवार एमालेका भोटु चन्दले दुई हजार ९०८ मत ल्याएका छन् । यहाँको ताराखोला, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकाको अन्तिम मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । ताराखोलामा माओवादी केन्द्र, तमानखोला र गलकोटमा नेपाली कांग्रेस विजयी बनेको छ । बागलुङ, जैमिनी नगरपालिका, बडिगाड र काठेखोला गाउँपालिकामा मतगणना जारी छ । यी चारै स्थानीय तहमा पनि गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । विसं २०७४ को चुनावमा चार स्थानीय तह जीतेको एमालेलाई यो पटकको चुनावमा गठबन्धन भारी पर्ने देखिएको छ ।