सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ४ जेठ । निर्वाचन आयोगले मतगणना कार्यलाई प्रभावकारी बनाउन थप गणक टोली परिचालन गर्न निर्वाचन अधिकृतका कार्यालयहरूलाई निर्देशन दिएको छ । वैशाख ३१ गतेबाट पालिकहरूमा मतगणना भइरहे पनि महानगर तथा उपमहानगरहरूमा सुस्त भएपछि द्रुत गतिमा गणना गर्न थप गणकको व्यवस्था उसले गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति प्रकाशित गरी मतगणना सुरु भएको पाँचौ दिन भित्रै सक्न निर्देशन दिएका हुन् । मतगणना कार्यलाई छिटो बनाउन राजनीतिक दलहरूको भूमिका पनि महत्वपूर्ण हुने आयोगले स्मरण गराएको छ । ‘मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भइ मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्ने जस्ता समस्याहरू खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा शुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथासमयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोगले राजनीतिक दलहरूलाई आग्रह गरेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ । ‘धेरै मत गणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराउन चाहन्छ’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न—गराउन आयोग निर्देश गर्दछ ।’ गत वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरूको मतगणना कार्य प्रारम्भ भई आज मध्याह्नसम्ममा चार सय ६० पालिकाहरूको अन्तिम परिणाम प्राप्त भइसकेको र अन्यको परिणाम धमाधम आइरहेको छ आयोगले प्रकिाशित गरेको विज्ञप्तिमा उल्लेख छ, ‘परिणाम आउन बाँकी पालिकाहरुमा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम् प्रयास भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौँ ।’ ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा सम्पन्न गराउने आयोगको संवैधानिक दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्नका लागि सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरिहार्य रहन्छ’ आयोगले भनेको छ, ‘विद्यमान कानूनी व्यवस्थाबमोजिम बहालवाला स्थानीय जनप्रतिनिधिहरुको पदावधि यही जेठ ५ गतेसम्म रहेको र तत्पश्चात स्थानीय सरकारमा जनप्रतिनिधिविहीनता हुने अवस्थालाई मध्यनजर गरी जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशिघ्र परिणाम प्रकाशन गरी निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउने मनसायले आयोगबाट निर्देशन भएको छ ।’ नेपालको संविधानबमोजिम विभिन्न तहका निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको समग्र जिम्मेवारी निर्वाचन आयोगमा रहेको प्रति कुनै द्विविधा नरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा आएका अन्यथा अर्थ लाग्न सक्ने आशयको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्नका लागि चालिएका कदमउपर अन्यथा टिकाटिप्पणी गरी आयोगको गरिमा र निर्वाचन प्रक्रियाप्रति नै अविश्वास हुने गरी समाचार सम्प्रेषण नगर्न, नगराउन हुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ । यथासमयमा मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई विभिन्न मतगणनास्थलमा रहेका राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि र कर्मचारी वर्गले यथार्थरुपमा ग्रहण गरी उक्त चाहनाबमोजिम छिटो कार्य सम्पादन गराउन आयोग अपिल गर्दछ ।’