ललितपुर महानगरमा नौ वडाको गणना सकियो

कांग्रेस पाँच वडा, नेकपा एस दुई, एमाले एक र स्वतन्त्र वडा अध्यक्ष एक
बिहीबार, जेठ ५, २०७९

ललितपुर, ५ जेठ । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  नेकपा (एकीकृत समाजवादी)ले  दुई र नेकपा एमालेले  एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्  । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन  वडा नं ८ मा  बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी भएका छन् । वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भएका छन् । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् । हाल वडा नं ९, ११ र १२ को गणना जारी छ । 
वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी भएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी भएनन् । रविनले  ८२५ मत पाए भने निकटतम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाए । महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएपछि  शनिबारदेखि मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।  
महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १७ हजार ७०० र नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले नौ हजार ५४४ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले नौ हजार ६६६ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले छ हजार २८ मत पाएका छन् । 

कामपा–४ मा एमालेको प्यानलै विजयी
काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उनी नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन् । 
त्यसैगरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र सरु अधिकारी श्रेष्ठ विजयी हुनुभएको छ । महिला सदस्यमा सन्ध्यदेवी खनाल र दलित महिला सदस्यमा कलपना सार्की (वयल्कोटी) विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।  
हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन् । 
त्यसैगरी कामपाकै प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २० हजार ९९० मत प्राप्त गरी आफ्नो अग्रता कायम गरिरहँदा प्रमुखकै उम्मेदवार केशव स्थापितले ११ हजार ८३ मत प्राप्त गरेका छन् । नेपाली कांगेसका तर्फबाट प्रमुखका उम्मेदवार सिर्जना सिंहले १० हजार २९८ मत पाउनुभएको छ ।  
त्यस्तै उपप्रमुख पदका लागि एमालेका उम्मेदवार सुनिता डङ्गोल २० हजार ५९० मतका साथ अग्रस्थानमा छिन् भने नेकपा (एकीकृत समाजवादी) का तर्फबाट रामेश्वर श्रेष्ठले सात हजार १९५ मत पाएका छन् ।  कामपामा हालसम्म ५५ हजार १४६ मत गणना भइसकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार