क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गरिने 

बुधबार, चैत ११, २०७७

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न थालेको हो ।  केन्द्रका निर्देशक डा अनुज भट्टचनले क्षयरोगलाई नियन्त्रण र निर्मूूलीकरण गरी सबै स्थानीय तह क्षयरोगमुक्त गरिने बताए ।  यसका लागि सरकारले सुक्ष्म ढङ्गले कार्यक्रम सञ्चालन गरिने उनको भनाइ रहेको छ ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्थानीय तहलाई पूर्ण स्वास्थ्ययुक्त बनाउनुपर्ने बताए ।  केन्द्रका निर्देशक डा भट्टचनले गत आव २०७६÷७७ मा एक लाख ५५ हजार ३७१ मा परीक्षण गर्दा २७ हजार ७४५ क्षयरोगका बिरामी भेटिएकाले उपचार गरिएको जानकारी दिए ।  केन्द्रका अनुसार क्षयरोग पत्ता लगाएका अझै ४१ हजार नयाँ बिरामी उपचारदेखि बाहिर रहेका छन् । ‘ती बिरामीलाई पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको छ’, उनले भने ।  प्रत्येक वर्ष मुलुकमा ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । प्रति एक लाखमा ९३ क्षयरोगका बिरामी र अहिले एक लाख १७ हजार क्षयरोगका बिरामी रहको छन् । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार हाल नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान नौ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ ।  अहिले चार हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७६५ प्रयोगशाला र ७२ जिनएक्पर्ट केन्द्र एवं दुई वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिँदै आइरहेको छ ।  यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, छ डिआर होस्टेल, एक वटा डिआर होम रहेको विश्व क्षयरोग दिवसको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

औषधि प्रतिरोधी बिरामी बढ्दो

केन्द्रले औषधि प्रतिरोधी क्षयरोग बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको जनाएको छ । नेपालमा अहिले वार्षिक दुई हजार २०० औषधि प्रतिरोधी बिरामी थपिने गरेको केन्द्रका निर्देशक डा भट्टचनले जानकारी दिए ।  गत आव २०७६÷७७ मा औषधि प्रतिरोेधी क्षयरोगका बिरामी ३८४ नियमित उपचार गराइएको थियो । उहाँले अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचारको दायरामा ल्याउन चुनौती रहेको बताए ।  सरकारले क्षयरोग स्वास्थ्य समस्या मात्र नभएर सामाजिक समस्या भएकाले यसको रोकथाम र नियन्त्रणका लागि प्रयास गरिरहेको छ । सरकारले क्षयरोगका बिरामीलाई उपचार गर्नका लागि मासिक रु तीन हजारसमेत प्रदान गरिरहेको छ । 

घरमै गएर औषधि खुवाइने 

केन्द्रका निर्देशक डा भट्टचनले अब क्षयरोगका बिरामीलाई घरमै औषधि खुवाउने व्यवस्था गरिन थालेको जानकारी दिए ।  बिरामीलाई लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने भएकाले बिरामीको सहजताका लागि बिरामीको घरमै औषधि खुवाउने व्यवस्था गरिन थालिएको बताए ।  पाँच वर्षभित्र सबै जिल्ला बिरामीको घरमा गई औषधि खुवाइने योजना रहेको छ । 

क्षयरोग उपचारका लागि अस्पताल
यस्तै सरकारले क्षयरोगका बिरामीलाई उपचार गर्नका लागि केन्द्रीयस्तरको अस्पताल निर्माण गरिरहेको छ । सबै प्रकारका क्षयरोगका बिरामीको उपचारका लागि भक्तपुरको ठिमीमा छाती रोग अस्पताल निर्माण भइरहेको छ । केन्द्रका निर्देशक डा भट्टचनले आव वर्षदेखि अस्पताल सञ्चालनमा आउने जानकारी दिनुभयो । विश्वभर बुधबार क्षयरोग दिवस मनाइँदै छ । नेपालमा पनि ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो ।–रासस
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार