सोसल मिडिया
Contact Us
युनिकोड
सिरहा, ७ जेठ । सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले पुनः जितेको छ । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान निवर्तमान मेयर श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवीलाई निर्वाचित भएको घोषणासहित प्रमाण पत्रसमेत दिएको छ ।
उनीहरू दुवै जना नेकपा माओवादी केन्द्रबाटै २०७४ को स्थानीयतह निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । मिर्चैयाका निवर्तमान मेयर समेत रहेका यादव ५२३ मतान्तरसहित ५ हजार २३३ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याउँदा नेकपा एमालेका प्रतिप महासेठले ३ हजार ७०४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा निर्वाचित जीवछी देवीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छन् । उनले ५ हजार ७० मत ल्याएकी छन् भने निकटतम प्रतिस्पर्धी साहले ५ हजार २६ मत र नेकपा एमालेका सोभा देवी साहले ३ हजार ८७७ मत प्राप्त गरेकी छन् ।कुल १२ वडा रहेको मिर्चैयामा एमालेले ५, माओवादी केन्द्रले ४ जनमत पार्टी, नेपाली काँग्रेस र स्वतन्त्रले १/१ वडा जितेका छन् ।
मतगणना सकिएको लामो समयसम्म पनि विजय घोषणा नगरेपछि नेकपा माओवादीका नेता कार्यकर्ताहरूले मत परिणाम घोषणा गर्न दबाब दिनु परेको थियो । शुक्रबार अपराह्न ५ बजे नै मतगणना सकिए पनि परिणाम घोषण रोकिएपछि सञ्चारकर्मी र नेताहरूको आग्रहपछि आज शनिबार बिहानमात्र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित परिणाम घोषणा गरेका थिए ।